नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा बालगृहमा रहेका असहाय बालबालिकालाई एक दम्पत्तीले सहयोग गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई बेनी नगरपालिका–६ छापा घर भई यूकेमा बसोबास गर्ने किसान जिसी, सुशन श्रेष्ठ जिसीले झोला, शैक्षिक साम्रागी र लत्ताकपडा वितरण गरेका छन् ।

शनिबार बालगृहमा आयोजित कार्यक्रममा अभिभावक गुमाएका बालबालिकामा सबैको मायाँ हुनुपर्ने भन्दै यूकेमा विभिन्न संघसंस्थामा आवद्ध किसान जिसीले १० हजार बराबरको खाद्यान्न सहित भोजन र १५ हजार बराबरको झोला र शैक्षिक साम्रागी हस्तान्तरण गरेका थिए ।उनले बालगृहमा आफ्नो गाँस काटेर भएपनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।स्वर्गीय बहिनी गंगाको स्मृतिमा विभिन्न रचनात्मक कार्यहरुलाई थप तिब्रता दिने बताए ।

बालगृहमा रहेका १३ बालबालिकासँगै कर्मचारीलाई समेत सहयोग गरिएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी लगाएतको उपस्थिती रहेको थियो । हस्तान्तरण कार्यक्रममा बाल संगठनका सभापति नेत्रबहादुर महतले बेलाबेलामा सहयोगी भावना भएका मनकारी मानिसले ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो भएको बताएका थिए ।

उनले विगतमा समेत जिसी परिवारबाट बालबालिकालाई सहयोग भएको बताउँदै अभिभावक विहिन बालबालिकालाई लक्षित गरी भौतिक पूर्वाधारमा समेत सहयोगको अनुरोध गरेका थिए । यसैबीच सहयोगदाता जिसीले बालबालिकालाई हौसला प्रदान गर्ने भन्दै आफ्नै हातले एकछाक पकाएर खुवाएको बताए ।

उनले अति समस्यामा परेको एक बालिकालाई आवश्यक प्रक्रिया पुरा गरी कक्षा १२ सम्मको नीजि विद्यालयका शिक्षा समेत उपलब्ध गराउने प्रतिबद्धत समेत जनाएका छन् ।