बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका यतिबेला झिनिया बनाउने काममा व्यस्त हनुहुन्छ । २०६० सालबाट झिनिया बनाउने काम सुरु गर्नुभएको उहाँले पछि विस्तारै व्यावसायिक रुपमा झिनिया बनाउन थाल्नुभयो । सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनिया बनाएकोमा अहिले रोकासँगै दुईजनाले झिनिया बनाइरहनुभएको छ ।

सुरुको चरणमा पाँचहजार रुपैयाँको मेसिन खरिद गरेर झिनिया बनाउन थालेकोमा अहिले आएर ७० हजारमा बिजुलीबाट चल्ने झिनिया बनाउने मेसिन जडान गर्नुभएको छ । तिहार पर्व नजिकिएसँगै झिनिया बनाउन सुरु गर्नुभएकी महिला उद्यमी रोकाले हरेक वर्ष दसैं, तिहार र अन्य समयमा अर्डर अनुसार झिनिया बनाउने गरेको बताउनुभयो ।

महिला उद्यमी रोका जस्तै रघुगंगा गाउँपालिका–५, झीँ गाउँका ४ जना महिलासहित मंगला–१, हिदीको हुमादेवी फगामीको समूह पनि तिहारका लागि झिनिया बनाउने काममा व्यस्त छन् । उनीहरुले दैनिक रुपमा झिनिया बनाउँदै आइरहेका छन् । १ दर्जन झिनियालाई एकसय ६० रुपैयाँका दरले बिक्री गर्ने गरेको महिला उद्यमी गौरा पाईजा बताउनुहुन्छ ।

रोका र पाईजा जस्तै सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगसम्म महिलाहरु झिनिया र सेलरोटी बनाउने तयारीमा जुटेका छन् । नेपालीहरुमा महान् पर्व दसैंमा विशेष गरी प्रायःःमासु खाने प्रचलन रहेकोमा तिहारका लागि भने झिनिया र सेलरोटी लगायतका परिकारहरुको प्रयोग गरिन्छ । दसैं तिहारमा अन्य परिकारसँगै झिनियालाई पनि मानिसहरुले रुचाउने गरेका छन् ।

निकै मेहेनतका साथ बनाइने झिनिया स्वादिष्ट मानिन्छ ।हरेक वर्ष बडादसैं, तिहार पर्व, ब्रतबन्ध, विवाह, पुजाआजा र अन्य समयमा झिनिया बिक्री गरेरै महिलाहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । चाडपर्वका साथै विवाह, ब्रतबन्ध, पुजाआजा, बर्थ–डे पार्टी, अन्य भोजभतेरसहित माङ्गलिक कार्य गर्दा झिनिया खपत हुने गरेको छ ।

चामललाई धोएर घाममा सुकाई त्यसलाई पिसेर पीठो बनाएपछि विभिन्न किसिमका रङहरुको प्रयोगमा झिनियाँ बनाउने गरिन्छ । म्याग्दीमा उत्पादित झिनिया तराईका जिल्लाका साथै पोखरा र काठमाडौंको बजारसम्म पुग्ने गरेको छ । उज्यालोको पर्व तिहारमा झिनिया, सेलरोटी, मिठाई जस्ता परिकारहरु खाने तथा सयपत्री, मखमलीसहित विभिन्न प्रकारका फुलहरुको माला लगाएर तिहार पर्व मनाउने गरिन्छ ।

विज्ञापन