मगर समुदायको कला, संस्कृतिको संरक्षण तथा भवन मर्मतमा सहयोगार्थ आयोजित देउसीभैलोमा एकैदिन ५ लाख भन्दा बढी आर्थिक संकलन भएको छ । मगर संघ म्याग्दीको आयोजनामा आफ्नै भवनमा सञ्चालन गरिएको एकदिने देउसीभैलो कार्यक्रममा ५ लाख ९ हजार ९७९ रुपैयाँ संकलन गरिएको थियो । देउसीभैलोको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले उद्घाटन गरेका थिए ।

मगर समुदायको कला, संस्कृति, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण तथा रचनात्मक कार्यलाई प्रोत्साहन गर्न देउसीभैलोमार्फत संकलन गरिएको सहयोगलाई प्रयोग गरिने बताइएको थियो । देसीभैलोको अवसरमा पुख्यौली, थाली, सालैजो लगाएतका मगर समुदायका मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

भाषा,संस्कृति,कला र मौलिकतालाई जोगाउँन चुनौती भइरहेको अवस्थामा मगर संघले विभिन्न कार्यक्रम मार्फत समुदायलाई एकताबद्ध बनाउने प्रयास गरेको छ । देउसी भैलोमा प्रमुख अतिथि एवम् कांग्रेस सभापति गुर्बजाले ५० हजार, अध्यक्ष डकमायाँ पाईजाले ३१ हजार, निर्वतमान अध्यक्ष मनप्रसाद थजालीले २१ हजार र उपाध्यक्ष लोकेश पुनले ११ हजार १११ सहयोग गरेका थिए ।

देउसीभैलोमार्फत संकलित रकमलाई भवन मर्मत तथा आवश्यकता अनुसार क्षेत्रमा खर्च गरिने अध्यक्ष डकमायाँ पाईजाले बताईन् ।देउसीभैलो कार्यक्रमको अध्यक्षता पाईजा, स्वागत उपाध्यक्ष लोकेश पुनमगर र सञ्चालन सचिव खम थापाले गरेका थिए । म्याग्दी मगर समुदायको वाहुल्यता भएको जिल्ला हो । मगर संस्कृतिमा धनी जिल्ला भएकाले पनि यहाँका मगर समुदायले आफ्नो कला संस्कृति र परम्परालाई जोगाइ राख्न नयाँ पुस्तालाई समेत सक्रिय बनाउने गरेका छन् ।

विज्ञापन