नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनष्टि पार्टी कास्कीले शनिबार पोखरा महानगरपालिका वडा नं. २३ चापाकोट स्थित साढे ३७ रोपनी जमिन कब्जा गरेको छ । पार्टीको झण्डा गाड्दै विप्लवका कार्यकर्ताहरुले कुनै पनि व्यक्ति वा संस्थाले सो जमिन खरिद बिक्री वा बितरण गरेमा सशक्त कारवाही गर्ने चेतावनी दिएका छन् । उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडंले बिना सूचना किसानहरुको सो जमिन सहकारीको नाममा पास गरेको थियो ।

किसानहरुलाई कुनै पनि लिखित वा मौखिक सूचना नदिईकन गलत नियतवश जमिन हडप्ने उद्देश्यले जग्गा पास गर्ने र तेस्रो व्यक्तिलाई बेच्ने कार्य शुरु गरेपछि तत्कालै यस्ता गतिविधिहरु रोक्नुपर्ने भन्दै नेकपा। कास्कीले विरोध जनाएको हो । २०५७ सालमा स्थानीय किसानहरु देवीरमण चापागाई, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलरााम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्त रुपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए ।

पीडित गोपालप्रसाद पराजुलीले गाईपालनका लागि ऋण लिएको बताउनुभयो । उहाँले किस्ता बुझाउने क्रममा सहकारी कैं शेयर सदस्यहरु बिच विवाद उत्पन्न हुँदा सहकारी काठमाडौं सारिएको र किस्ता समेत बुझाउन नपाएको गुनासो गर्नुभयो ।ऋणको आधा साँवा र ब्याँज बुझाई सकेपछि द्वन्द्वकालको अवस्थामा एकाएक सहकारी नै सो स्थानबाट हट्नु र काठमाडौं कुन ठाउँमा छ भन्ने जानकारी हामीलाई नदिने कार्यले उत्तम पुन र नविन पुन समूहको नियतवश ठगी गर्ने उद्देश्य रहेको पुष्टि हुने किसानहरुको भनाई थियो।

१० वर्षप्छि बल्ल बल्ल सहकारी काठमाडौंमा भेटेपछि सरसल्लाह हुँदा एकमुष्ठ २५ लाख रुपैयाँ बुझाएर संस्थाको नाममा पास भएको उक्त जमिन फिर्ता गर्ने सहमती भएको थियो । पीडित देवीरमण चापागाईले भन्नुभयो–‘जे भएपनि हामीले अब जग्गा पाउँछौं भन्ने सोचेर २५ लाख बुझाउन गयौं तर संस्थाले चलखेल गरेर जमिन अरुलाई नै बेच्न थाल्यो ।’यस विषयमा बुझ्दा नेपाल सहकारी संस्थाका सञ्चालक मध्ये एक नविन पुनले किसानहरुलाई पछिल्लो समय जग्गा फिर्ता गर्ने सहमती भएको तर उहाँहरु भनेको समयमा नआउँदा संस्थाले टेण्डर गरी अरुलाई नै बेच्ने कार्य शुरु गरेको बताउनुभयो । Source: news24nepal.tv

विज्ञापन