बेनी नगरपालिका २ ज्यामरुककोट गौस्वराका यदुनाथ रिजालको १० मुरी धान फल्ने खेतमा यसपाली असिनाले चुटेर २ मुरी पनि छैन् । रिजाल जस्तै गाउँको धानखेतमा भेटिएका किसानको गतबर्षभन्दा करिव ८० प्रतिशत धान असिनाले नष्ट गरेको छ । खेतको फाँटमा शिखरजत्रो धानको रास ‘थुप्रो’ अग्लो हुने गरेको अवस्थामा अहिले खेतमै होचो छ । ‘यसपटक पराल पनि राम्रो भएन्,‘बडादशैंको दिनमै किसानलाई नराम्रोसँग असिनाले चुट्यो’ रिजालले भने ।

जताततै तिहारको रौनक शुरु भएको छ। तर, असोज २१ गते वडादशैंको दिन परेको भीषण असिनाले चुटेर धानवाली सखाप पारीदिएपछि रिजालजस्तै बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरुलाई भने असिनाबाट बचेको धान पराल थन्काउन भ्याइनभ्याइ छ। किसानहरुलाई भने असिनाबाट बचेको धान पराल थन्काउन भ्याइनभ्याइ छ। मौसममा देखिएको परिवर्तनसंगै उनीहरुलाई असिनाबाट बचेको धान पराल थन्काउने चटारो परेको हो।

तिहारले छोइसके पनि यहाँका किसानहरु काममा नै व्यस्त छन्। तिहारको कुनै रौनक छैन, असिनाले धान सखाप पारेपछि वर्षभरी के खाने भन्ने चिन्ताले सबै पिरोलिइ रहेका छन् । क्षती भएपनि अहिलेसम्म बेनी नगरपालिका लगाएत कृषि क्षेत्रमा सक्रिय कुनैपनि संघसंस्थाले राहत उपलब्धको प्रयास नगरेको किसानको गुनासो छ । राहतको पखाईमा रहेका किसानले अन्नबाली क्षती हुदाँ त्यसमा राज्यका निकायले ध्यान दिनुपर्ने बताउँछन् ।

ज्यामरुककोटमा वडादशैंको दिन परेको असिनाले २ करोडभन्दा बढि क्षति भएको कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत अनुगमन गरी निकालेको क्षतिको विवरणमा उल्लेख छ। किसानहरुले क्षतिपुर्तिको माग गरेका छन्। ज्यामरुककोटको गौश्वारा, सानालेख, भकुण्डे, काउनखर्क, तमाने र फापरखेतमा असिनाले धान लगाएतको वर्षेवालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले यहाँका किसानहरु बचेको वाली भित्राउन व्यस्त भएका हुन्।