सिरियाको इडलिब प्रान्तको सुदूर गाउँ बारिशामा मानिसहरूले शनिवार राति प्रायः भइरहने होहल्ला सुने । केही समयपछि नै उनीहरूलाई सेनाले कारावही चलाएको थाहा भइहाल्यो । तर यो दिनदिनै हुने किसिमको लडाइँ थिएन । स्वचालित बन्दूकले संसारभरि आतंक फैलाउने इस्लामिक स्टेट (आईएस) का आतंकवादीले हतियार समर्पण गरिसकेका थिए ।

आईएसका हतियारधारी आतंकवादीहरूका लागि अमेरिकी सेनाको सरप्राइज अट्याक अनपेक्षित थियो । ती अमेरिकी सैनिकहरू आईएस प्रमुख अबु बकर अल बग्दादीलाई खोज्दै पुगेका थिए । संसारका सबभन्दा खतरनाक व्यक्ति मारिएको यो कारवाही फिल्मी शैलीमा सम्पन्न गरिएको थियो । यस कारवाहीलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा बसेर हेरेका थिए । ट्रम्पका अनुसार, बग्दादी बसेको ठाउँ हेलिकप्टरले घेरिएको थियो । अमेरिकी सेनाका ७० कुशल डेल्टा कमान्डोहरूलाई धरातलमा ओरालिएको थियो । अनि उनीहरूले बग्दादीको गुफा जस्तो बंकरलाई घेरे । त्यही गुफामा बसेर बग्दादी संसारभरि आतंक फैलाइरहन्थ्यो ।

अमेरिकी कमान्डोहरूसँग हतियार बाहेक उच्च प्रशिक्षित कुकुर र एक रोबोट पनि थियो । आत्मघाती आक्रमण भएमा त्यसको प्रतिकार गर्न तिनलाई खटाइएको थियो । अमेरिकी कमान्डोहरूको दुईवटा मात्र उद्देश्य थियो ः बग्दादीलाई जिउँदै पक्रिने वा मार्ने । सिरियामा कमान्डोहरूले यो कारवाही चलाउँदै गर्दा साँझ गल्फ खेलेर फर्किएका ट्रम्प ह्वाइट हाउसमा बसेर लाइभ स्ट्रीमिङ हेरिरहेका थिए ।

बग्दादीको गुफालाई घेरेपछि सावधानीपूर्वक डेल्टा कमान्डो अघि बढिरहेका थिए । गुफाको ढोका खोल्दा जोखिम थियो । ढोकाको आडैमा भारी विस्फोटक पदार्थ लिएर आतंकवादीहरू बसिरहेका छन् कि भन्ने आशंका थियो ।

कमान्डोहरूले गुफाको एउटा पर्खाल उडाइदिए । भित्र बग्दादीका दुई पत्नी पनि थिए । उनीहरूले विस्फोटक पेटी बाँधेका थिए । तर उनीहरूले विस्फोट गरेनन् । अमेरिकी कमान्डोहरू र आतंकवादीबीच भिडन्त हुँदा उनीहरू मारिए । अमेरिकी सेनाले बग्दादीका धेरै लडाकूहरूलाई मारिदियो ।

त्यसपछि गुफामा अँध्यारो भए पनि अमेरिकी सेना प्रत्येक कोठामा तलाशी लिन थाल्यो । त्यसैबीच एक अरबी बोल्न् व्यक्तिले बग्दादीलाई आत्मसमर्पण गर्न भने । तर बग्दादीले आत्मसमर्पण गर्नुभन्दा भाग्नु ठीक ठाने । डेल्टा फोर्सले गुफाको हरेक कुनाकाप्चा र भाग्न सक्ने सबै बाटो खोज्न थाले । अमेरिकी सैनिकहरूले ११ निर्दोष बच्चाहरूलाई बचाए । गुफामा जिउँदै रहेका आईएस आतंकवादीहरूले आत्मसमर्पण गरे ।

गुफा पूरै खाली भएपछि कमान्डो र उनीहरूसँग रहेका कुकुरहरूले बग्दादीको पिछा गर्न थाले । बग्दादीसँग तीन बालबालिका पनि थिए । सैनिकहरूले यो कठिन टार्गेट रहेको थाहा भएकाले बिस्तारै अघि बढे र तालिमप्राप्त कुकुरलाई पठाए । पूरै घेरिएपछि आतंकवादी बग्दादीले कम्मरमा बाँधेको विस्फोटक बेल्ट पड्काएर आफैंले मारे । उससँगै ती निर्दोष बच्चा पनि मारिए ।

बग्दादीलाई कुदाई कुदाई अमेरिकी सैनिकहरूले मारे । ट्रम्पले बग्दादीको मृत्युको घोषणा गर्दा ऊ कुुकुर मारिएझैं मारिएको बताए । बग्दादीको आत्मघाती विस्फोटपछि धूवाँ फैलियो । अमेरिकी सैनिकहरू बग्दादी नजिक पुग्दा ऊ मरिसकेको थियो । उसको शरीरका अंगहरूलाई सानो फील्ड किटमार्फत डीएनए टेस्ट गरे । बग्दादीको पहिचान पुष्टि भएपछि संसारभरि खबर फैलियो ।

अमेरिकी सैनिकहरूले ह्वाइट हाउसलाई खबर दिए, ‘शतप्रतिशत विश्वस्त छौं, ज्याकपट । ओभर ।’अमेरिकी सेनाले बग्दादीलाई ज्याकपट नाम दिएको थियो । सन् २०११ मा लादेनलाई मार्ने कारवाही चलाउँदा उसलाई जिरोनिमो नाम दिइएको थियो ।एजेन्सी

विज्ञापन