नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन भएको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीद्वारा सञ्चालित देउसी भैलोमा ११ लाख ५० हजार नौसय १८ रुपैयाँ सङ्कलन गरिएको हो ।

भैलो खेल्न सुरु गरिएको तीन दिनको अवधि अन्तर्गत आइबारसम्म सो परिमाण बराबरको आर्थिक सङ्कलन गरिएको क्षत्री समाज म्याग्दीले जनाएको छ । देउसीभैलोका लागि भन्दै मंगला गाउँपालिका–१, कुहुँ घरभई हाल अमेरिका निवासीद्वय हिराबहादुर खत्री र महेन्द्रबहादुर जिसीले ५०÷५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यसैगरी बेनी नगरपालिका–९, तोरीपानी घरभई हाल अमेरिका बस्दै आएका भीमबहादुर खत्रीले पनि नगद ५० हजार रुपैयाँ क्षत्री समाजको देउसी भैलोलाई सहयोग गरेका छन् ।

त्यस्तै बेनी नगरपालिका–६, छापका नारायण जिसी र किसान जिसीले ४० हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेको क्षत्री महिला समाज म्याग्दीका अध्यक्ष कमला जिसीले जानकारी दिएकी छिन् । क्षत्री समाजका जिल्ला अध्यक्ष विरबहादुर थापाले २६ हजार एकसय ११, निवर्तमान अध्यक्ष अमृतदेवी बानियाँ, पूर्व अध्यक्ष क्या. मिनबहादुर कार्की र बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगद २५ हजार पाँचसय ५५ रुपैयाँका दरले देउसी भैलोलाई आर्थिक सहयोग गरेका छन् ।

त्यसैगरी रघुगंगा गाउँपालिका–२, राखुभगवती निवासी तप्तबहादुर भण्डारीले २१ हजार पाँचसय ५५ र बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले १९ हजार नौसय ९९ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । क्षत्री समाज म्याग्दीको भवन बनाउँदा लागेको ऋण चुक्ता गर्नका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित देउसीभैलो आयोजना गरिएको समाजका जिल्ला अध्यक्ष विरबहादुर थापाले बताए । उनले समाजको देउसीभैलोमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गर्दै सङ्कलित रकमले समाज घर बनाउँदा लागेको ऋण तिरिने बताएका छन् ।

देउसीभैलो कार्यक्रमको क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दी, क्षत्री महिला समाज म्याग्दी र क्षत्री समाज बेनी नगरपालिकाले संयोजन गरेका छन् । क्षत्री समाजको देउसीभैलोमा म्याग्दीका लोक तथा दोहोरी गायक एवं हाँस्यकलाकार रवि कार्की र लोकदोहोरी गायक अमित विश्वकर्माले गीतसङ्गीत र देउसीभैलोको कार्यक्रम सञ्चालन गर्नुका साथै कलाकारको संयोजक गरिरहेका छन् । यसैबीच देउसीभैलो कार्यक्रमको समीक्षा गरी तिहारको भाइटिकापछि सदरमुकाम बाहिरका क्षेत्रमा पनि पुगेर देउसीभैलो खेल्नेबारे छलफल भैरहेको अध्यक्ष थापाको भनाइ छ ।