कृष्ण न्यौपाने/वनमा थापिएको खोरमा परेर चितुवा नियन्त्रणमा तनहुँको भानु नगरपालिकास्थित विभिन्न वडामा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान थालेपछि स्थानीयवासीले चितुवा नियन्त्रणका लागि बनाएको खोरमा आज बिहान एक चितुवा परेको छ ।  डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएपछि स्थानीयवासीले भानु नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा बनाएको खोरमा बिहान चितुवा नियन्त्रणमा आएको हो ।

भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले आहारासहित राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मामा छाडिएको जानकारी दिनुभयो ।

उप्रेतीका अनुसार भाले जातको उक्त चितुवा करीब आठ÷दश वर्ष उमेरको छ ।  “बाख्रासहित राखिएको परम्परागत काठको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई आज नै राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ,” उप्रेतीले भन्नुभयो, “बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही चितुवा हो कि होइन भन्ने यकिन भएको छैन।” भानु नगरपालिकामा करीब १२÷१३ वटा चितुवा रहेको अनुमान गरिएको छ ।

चितुवा नियन्त्रणका लागि नौ वटा परम्परागत खोर निर्माण भइरहेको छ । जसमध्ये चार वटा खोर निर्माण सम्पन्न भइसकेको छ भने पाँच वटा खोर निर्माणको चरणमा छ । बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि विगत केही समयदेखि प्रयास हुँदै आएको छ । सोही बमोजिम भानु नगरपालिकाका विभिन्न वडामा काठको खोर निर्माण गरिएको छ । गत असोज १६ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा पनि एउटा चितुवा नियन्त्रणमा आएको थियो । चितुवा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी लगायतको टोली पनि खटिएको छ ।

विज्ञापन