टोलटोलमा भजन समुहबाट भजन, मिठो र मधुर स्वरमा शंख, नाचगान सहित गाईको पूजा । म्याग्दीको सदरमुकाम बेनीमा पहिलोपटक टोलटोलमा ब्यवस्थित तरिकाले पैदल तथा गाडीमा राखेर गौ पूजा गरिएको छ ।

यमपञ्चकको चौथो दिन आज गौ पूजा कार्यक्रम गरिएको छ । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको गण्डकी गोपाल गौशाला मार्कण्डेय भूमेबराह क्षेत्र गोकुलधामले बेनीबजारबासीलाई घर अगाडीनै गाईको पूजा गर्ने व्यवस्था मिलाएको हो ।गौशाला सञ्चालक समिति र धाईरीङ–बेनी सम्पर्क समाजका पदाधीकारीहरुले गाईको महत्व झल्कने भजन किर्तन सहित गाईलाई बजार परिक्रमा गराएका थिए।

बेनी बजारको सबै टोल र चोकमा गाई लाई र्पुयाएर मन्त्रोच्चारण गरि धार्मिक विधि अनुसार पूजा गर्ने व्यवस्था मिलाइएको थियो। गाई नपाएर गाईपुजा गर्न समस्या भएको अवसरमा गौशालाको कार्यक्रमले सहज बनाएको समितिका शेरबहादुर केसीले बताउनुभयो । गौ पूजा कार्यक्रमसँगै गौको संरक्षणमा समेत राज्यका निकायले विशेष पहल गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

श्री गण्डकी गोपाल गौशाला धनधान्याचल विराट ज्ञान महायज्ञ एवं गौ महोत्सवको आयोजना गरी गाईको संरक्षण, महत्व र बैज्ञानिकहरुको तथ्यलाई समेत प्रचारप्रसार गरिने बताइएको थियो । अगामी मंसिर १९ देखि २६ सम्म हुने महोत्सवको प्रचारप्रसार सहित म्याग्दी, बागलुङ र पर्वत तीन जिल्लामा एकैपटक गौ– पूजा कार्यक्रम गरिएको थियो । पण्ठित सहित विधिपूर्वक गरिएको पूजामा चोकचोकमा भिड देखिन्थ्यो । यसैगरी बेनीमा रहेको लक्ष्मिनारायण मन्दिर संरक्षण समितिले पनि गाउँबाट गाई ल्याएर मन्दिर परिसरमा बजारबासीलाई गाईपूजा गर्ने व्यवस्था मिलाएको थियो।

यमपञ्चक अर्थात तिहारको चौथो दिन गाई, गोरु र कृषकको पूजाआजा गरी मिठो खानेकुरा खान दिने चलन छ। गाईको पूजा गरी आजका दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ। गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदने धार्मिक विश्वास छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।

गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाई नेपालको राष्ट्रिय जनावर पनि हो। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मिठा–मीठा खानेकुरा खाने दिने चलन छ। यसैगरी गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिठा–मिठा परिकार खुवाइन्छ। गोठमा बाबियोको डोरीको तोरण बनाएर तान्ने चलन पनि छ।

विज्ञापन