नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । तिहारको रौनक भनेकै देउसी भौलो,सयपत्री र मखमली फूलको सौन्दर्य र त्यसवाट प्राप्त हुने आनन्द नै हो । तर, आजकल गाइने देउसी भौलोमा मौलिकता हराउँदै गएकोमा संस्कृतिप्रेमी एवम् अग्रजहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी बजार लगाएत नजिकका ग्रामिण क्षेत्रहरुमा दैनिक एक दर्जनको हाराहारीमा आउने देउसी भौलोका समूहहरुले भट्याउने र गीत गाउन मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिइरहेका छन् ।तर उनीहरुमा कुनै पनि मोलिकता देखिँदैन । अधिकांश भैली समुहहरुले हिन्दी र नेपाली चलचित्रका गीत एवम एल्वममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् ।

न उनीहरुले मादल बोकेका हुन्छन न मुरली र खैजडी नै । ठुलाठुला साउन्डवक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो समुहहरु हिँडेका देखिएका छन् ।देउसीभैलोहरुले ठुलो स्वरमा बज्ने साउन्डवक्समा गीत घन्काउँदा मनोरन्जन भन्दा वढी हल्ला मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् ।  ठुलो ठुलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफुहरुलाई रमाइलो भन्दा बढी डर लाग्ने गरेको संस्कृति संरक्षणका अभियन्ताहरुको भनाइरहेको छ ।

म्याग्दीको लोक संस्कृतिका जानकार गायिका धनकुमारी थापाले पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर आज भोलि आयतित गीतहरु सुनेर वाक्क लाग्ने गरेको बताइन् । ‘पहिले आफै भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो तर आज भोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन्,’

उनले भनिन् । यस्तै हो भने केहि वर्षपछि लोकवाजा र भैलीको मोलिकता हराउने निश्चित भएको उहाँको भनाइ छ ।
त्यसैगरी लोक संस्कृतिका अभियन्ता एवम् गीतकार प्रकाशकुमार श्रेष्ठले मोमेरी संस्कृतिका कारण लोक संस्कृति जोखिममा परेको बताउँदै पछिल्लो युवा पुस्ता आफ्नो मौलिकता भन्दा पनि आयातित संस्कृतिप्रति बढि आकर्षित हुन थालेकोले लोक तिहारको देउसी भैलो र दशैको मालाश्री धुन नै जोखिममा पर्ने चिन्ता बढेको बताए ।

पहिलापहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झयाली, टयाम्कोलगायतका मौलिक वाजाहरु वजाउने गरेको स्मरण गर्दै गीतकार श्रेष्ठले भने ‘तर, आज भोलि कसैको हातमा पनि ती वाजाहरु देखिदैनन । हाम्रो मौलिक पहिचान वोकेका देउसी भैलो गीतमा विकृति भित्रिन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । पहिलेका भैलीहरु विशुद्ध मनोरन्जल र सस्कृति जोगाउनका लागि हुन्थे तर आज भोलिका देउसी भैलोहरु हेर्न पनि हप्ठेरो लाग्ने बेनी नगरपालिका २ सानालेखका ९० वर्षिय भीमप्रसाद शर्माले बताए ।

१०÷१२ वर्ष अघिसम्म म्याग्दी सदरमुकाम बेनी लगाएतका गाउँहरुमा देउसी भैलो खेल्नेहरुको पोषाकमा नेपाली पन देखिन्थ्यो भने उनीहरुले भट्टयाउने भैलो गीत र अन्य गीतहरुमा स्थानीय मौलिकता झल्किन्थ्यो, योगगुरु नविन जुग्जालीले बताए । उनले पहिले पहिले वालवालिका देखि युवायुवती र प्रौढ एवम वृद्धवृद्धाहरुले देउसी भैलो स्थानीय गीत संगीतका साथ खेल्ने गरेको बताए । अहिलेका देउसी भैलो खेल्नेहरु भने सवै वनावटी गीतहरुको भर पर्छन् उनले भने ।

पछिल्लो पुस्ताका युवाहरुले स्थानीय लोकसस्कृति छोड्दै गएका कारण जिल्लाका यानीमाया,ख्याली, ठाडो भाका, झयाउरे गीत,मारुनी,पुख्र्यौली र नाँच लगाएतका सस्कृतिहरु अहिले हराउदै जान थालेकोमा स्थानीय वुढापाखाहरु चिन्तित देखिन्छन्। पहिले मेला पर्व देखि देउसी भैलो लगाएतका समाजिक एवम अन्य कार्यक्रममा स्थानीय लोकवाजा र स्थानीय नाचहरु निकै रमझमका साथ हेर्न पाइने गरे पनि अहिले भने विस्तारै सवै हराउदै गएको उनीहरुको भनाइ छ ।
मोवाइलको मेमोरीमा देउसी भैलो कैद

सदरमुकाम बेनी बजार लगाएत ग्रामिण भेगहरुमा खेलिएका अधिकांश देउसी भैलोका समूहले मोवाइलको मेमोरीमा रेकर्ड गरिएका गीतहरु बजाएर र ताल न सुरको नृत्य प्रश्तुत गरेर देउसी भैलो खेल्ने गरेका छन् ।केही देउसी भैलोको समूहलाई छोडेर धेरै समूहले साउण्डबक्स र मोवाइल मात्र बोकेर देउसी भैलो खेलेको देखिएको अर्थुङ्गेका कृष्ण सुवेदीले बताए । उनका अनुसार ‘न भट्याउने झण्झट,न बाद्यवादनका सामाग्री, साउण्डबक्समार्फत मोवाइलका गीत बजायो,पैसा झार्यो,टाप कस्यो कति सजिलो ।

बलिराजा कता हराए कता ?
‘हामी त्यसै आएनौं,बली राजाले पठाए, हे औंसीबारे गाइतिहारे भौलो‘ यो पंक्तिले पौराणिक कालमा अत्यन्त दानी ठानिएका बलि राजाले आफ्नो राज्यका जनतालाई दान दिन अभिप्रेरित गर्दथे भन्ने सांकेतिक अर्थ दिएको छ । तर आजकलका देउसी भैलोमा यो पंक्ति गाइन र भट्टाइन नै छोडिएको बेनी नगरपालिका २ बगरफाँटका ८३ वर्षिय बेदप्रसाद शर्माले बताए ।
पौराणिक कथावस्तुलाई जोडेर वर्तमानलाई सन्देश दिने खालको लोकोत्तिहरुको प्रयोग गरेर गाइने देउसी भैलो आजकल लोप भैसकेको वृद्धवृद्धाहरुको भनाइ रहेको छ ।

सिदा चाहिदैन,दक्षिणा भए पुग्छ
कार्तिकमा दान दिए पुण्य मिल्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । यही मान्यता अनुसार तिहारको बेला देउसी भैलोलाई यथाशक्य दक्षिण सहित सिदा दान दिने चलन छ । नाङ्लोमा धान,चामल,सेलरोटी,फलफूल,दक्षिणा र बलेको बत्ति दिएर आँगनमा आएका भैलिनीलाई दान दिन घरमुली आउँदा भैलिनीले आशिष दिने चलन थियो ।

‘ढुङ्गा छोए ढुङ्गा होइजाओस्,माटो छुँदा अन्नै होइजाओस्‘ भनेर आशिष दिने परम्परा थियो । तर अहिले देउसी र भौलो पनि व्यवसायिक भैसकेको र आशिष दिने प्रचलन पनि लोप भएको खवराका चन्द्रबहादुर कार्कीले बताए ।‘अहिलेका देउसी भौलोको समूहलाई सिदा चाहिदैन,दक्षिणा मात्र भए पुग्छ,कार्कीले भने ‘दिएको सिदा पनि छोडेर दक्षिणा मात्र लिएर हिड्छन्,के कात्तिके दान भन्नु र ?

Ratna Sagar Shrestha/THT

सवै त्यस्ता छैनन्, संस्कृति संरक्षण गर्नेहरु पनि देखिए
लोक संस्कृतिको धनी जिल्ला भनेर परिचय बनाएको म्याग्दी जिल्लामा पछिल्लो समय पाश्चात्य संगीतको मोह बढ्दै गएपनि केही जातीय संघसंस्थाहरु भने संस्कृति संरक्षणमा पनि लागेका छन् ।बेनीमा देखिएका डेढ दर्जन बढि देउसी भौलोका समूहहरुमध्ये केही समूहले भने आफ्नो जातीय पहिचार र संस्कृति प्रर्दशन गरेर शालिनता पूर्वक देउसी भौलो खेलेको पनि देखियो । मगर संघ म्याग्दी,बेनी सामुदायिक मावि जस्ता संस्थाले संस्थाको विकास र उन्नयनका लागि आयोजना गरेको देउसी भैलोमा मौलिकता देखिएको बजारवासीहरुले बताएका छन् ।