तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए। आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका उनलाई चितुवाले आक्रमण गरेको हो।

उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। बालकको शरीरको कम्मरमुनीको भागमा चितुवाले आक्रमण गरेको अवस्थामा शव भेटिएको छ।  दसैँको टिकाको दिनमा पनि यहाँ चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको मृत्यु भएको थियो।

भानु नगरपालिका–१ जामुने गैराका विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँको मृत्यु भएको हो। घर नजिकै परालको टौवामा हालिएको पिङ खेल्दै उनलाई चितुवाले आक्रमण गरेको थियो। भानुको वडा नम्बर  १, २, ३ र ४ का स्थानीय चितुवाको त्रासमा छन्। यहाँ डेढ बर्षयता निरन्तर चितुवाले आक्रमण गर्दै आइरहेको छ। यो अवधिमा ६ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएको डिभिजन वन कार्यालयले जनाएको। ४ बालबालिका घाइते छन्। विनोद ढुंगाना