प्रहरी बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययरत् छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले पुष्टि गरे । उनले भने, ‘अहिले हिरासतमा राखेका छौं । अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप्छौं ।’

 

राईले एक चिनजानकी १८ वर्षीया किशोरीलाई ‘काम छ भन्दै बोलाएर’ काठमाडौंको गोकणेश्वर–६ मा रहेको आफ्नो साथीको कोठामा लगेर बलात्कार गरेका प्रहरीको भनाइ छ । ‘काम छ भनेर बोलाएर साथीको कोठामा लगि बलात्कार गरेको भन्दै पीडित किशोरीले राईविरुद्ध उजुरी दिएकी छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पीडित युवतीलाई सोमबार राति नै उद्दार गरिएको हो । आरोपितलाई बिहान पक्राउ गरिएको हो ।’

प्रहरीले अहिले पीडित किशोरीको मेडिकल परीक्षणसहित आरोपितमाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ । पीडितका अनुसार राईले अपरान्ह करिब ३ः३० बजे देउसी खेल्न भनेर बोलाएर कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ । अनुसन्धान अधिकृतका अनुसार, पीडितकी दिदी राईका साथी हुन् ।