सरकारले आज (बुधबार) पनि सार्वजनिक विदा दिएको छ । पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेपछि सरकारले बुधबार पनि सार्वजनिक विदा दिएको हो ।

नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् । मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले बुधबार किजा पूजा मनाउन लागिएको बताइएको छ। नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा भएकाले कतिपयले हिजो नै किजापूजा मनाएका छन् ।

नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले मंगलबार नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

विज्ञापन