जाउलाखेलकी रैथाने स्नेहा राउत थापा एक महिनाअघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेसनल– २०१९ की रनरअप हुन्। नोभेम्बर १ तारिखदेखि सिंगापुरमा हुने मिसेस इन्टरनेसनल– २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छिन्।

१० दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वका ३५ देशका प्रतिस्पर्धीले आआफ्नो क्षमता प्रदर्शन गर्ने छन्। प्रतियोगितामा देश चिनाउन आफूले मेहनत गर्ने र नेपालको कलासंस्कृति प्रस्तुत गर्ने उनले बताइन्। सिंगापुर प्रस्थान गर्ने पूर्वसन्ध्यामा अन्नपूर्णसँग कुरा गर्दै उनले भनिन्, ‘विवाहपछि घर घन्दामै सीमित हुने नेपाली महिलाका लागि प्रेरणाको स्रोत बन्ने प्रयासमा छु। विवाहपछि करिअर सकिँदैन भन्ने उदाहरण प्रस्तुत गर्दैछु।’

पढेका र जागिरे युवतीलाई पनि विवाहपछि घरबाहिर निस्कन निकै सकस छ। आफूमा भएको खुबी, रुचि र क्षमता अघि बढाउन पनि महिलाहरूले केही गर्नै पर्ने जरुरी ठान्छिन् उनी। ‘लैंगिक असमानताविरुद्ध आवाज उठाउन सहकार्य गरौं’ भन्नै यो पटकको मिसेस नेपालको नारा नै मन परेको थियो उनलाई।
१७ महिनाको छोरा छ उनको। दूधेबच्चा छाडेर ब्युटी प्याजेन्टमा जान सजिलो थिएन उनलाई। श्रीमान्लाई कन्भिन्स् गरिन्। परिवारलाई सम्झाइन्। सासूससुराले सहयोग गरे। समाजका समस्या उठाउन सक्ने बन्नु छ उनलाई।उनको यो हिम्मत र लगनशीलताले नै मिसेस नेपालको रनरअपको उपाधि जित्न सफल भइन् उनी। यसका साथै बेस्ट पर्सनालिटी अफ सेकेन्ड रनरअप २०१९ को टाइटल पनि प्राप्त गरिन्।

 

भन्छिन्, ‘बिहे गर्नासाथ महिलामाथि विभिन्न बहानामा भेदभाव हुन्छ। माया जताएर होस् या जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता देखाएर होस् वा बालबच्चाको बहानामा होस्, पछाडि परिने रहेछ। मलाई घरभित्रको मात्रै जिन्दगी स्वीकार थिएन। नेपालका महिला पनि कुनै हिसाबमा कम छैनन् भनेर प्रमाणित गर्न चाहन्छु।’

महिलाको क्षमताको प्रशंसा गर्दै राउत भन्छिन्, ‘महिलाहरू समाजका अत्यन्तै जिम्मेवार व्यक्ति हुन्। घरभित्र पनि फिट। अफिसमा बराबर काम गरेर कमाउन पनि तयार। बाहिर मिटिङ छलफलमा बसेर ह्यान्डल गर्न पनि तयार। राजनीतिमा समान क्षमता प्रदर्शन गर्न पनि सक्षम।’ अलराउन्डर महिलालाई किन पछाडि पारेका होलान् भन्ने उनको प्रश्न छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

विज्ञापन