देउसी भैलो खेलेर संकलन गरेको रकम बनभोज जाने, फजुल खर्च गरेर उडाउने चलन अझैपनि छ, तर म्याग्दीको एक समुहले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम बीहिबार बेनी नगरपालिका २ बगरफाँटको कोटखोलाका बाढी पीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ८ कालीपुल क्षेत्रमा खेलकुद सहित सामाजिक कार्यमा सक्रिय रहेको एक समुहले भैलो खेलेर संकलन गरेको रु १० हजारबाट विभिन्न किसीमका खाद्यान्न राहत सामाग्री खरिद गरी ७ जना बाढी पीडितलाई प्रदान गरेका हुन् । बाढीपहिरो प्रभावितलाई सहयोग जुटाउन आयोजित देसीभैलोबाट संकलन भएको रकमलाई बिहिबार एक कार्यक्रम गरी सहयोग गरेको अभियानकी सदस्य मनिता गौचनले बताईन् ।

‘बाढीबाट विस्थापित भएको जानकारी थियो, हामीले त्यही बाढीपीडितलाई सहयोग जुटाउन भैलो खेल्यौ’ उनले भनिन् । बिधान पुनको संयोजकत्वमा खेलिएको देउसीभैलोमा सोनिया पुन, संगिता पुन, प्रतिक्षा पुन, अरुण पुन, सम्झना मल्ल,सेरिया पुन, आशिष पुन, बिवस शाही, विशाल थापा, अञ्जु छन्त्याल र उर्मिला बुढाथोकीको उपस्थिती रहेको थियो ।

टोलीले सामान खरिद गरेर बाढी पीडितहरुलाई प्रदान गरेका बाढी पिडित राहत संकलन एवम् व्यवस्थापन समितिका संयोजक भीमवहादुर रिजाल (राजु)ले जानकारी दिए ।असोज ४ गते राती कोटखोलामा आएको बाढीले स्थानीय दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्याएको थियो ।

बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुर्ननिर्माणको काम भने सम्पन्न भैसकेको छ ।पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभुत विद्यालयको कोठामा बसेका छन् । उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक संकलन गर्ने उद्धेश्यले गठन गरिएको बगरफाँट बाढी पीडित आर्थिक संकलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय रुपैयाँ संकलन भएको छ ।

विज्ञापन