????????????????????????????????????

स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गरिएको हो ।

वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार, महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ ।

गौमहोत्सवको तयारीबाट जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताए । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिए । उनले महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको बताए ।

महायज्ञमा करिब ५ करोडबढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको छ । महायज्ञको व्यवस्थापन संगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापि रुपमा प्रचारप्रसारलाई तिब्रता दिईएको समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिए । महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्य संगै पण्डित सुनर्शन बरालको कथा बाचन र प्रवचन रहनेछ ।

 

जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु ५ हजार ५ सय ५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताब गरिएको छ भने महोत्सव अवधिभर १ हजार बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिए । अहिलेसम्म ४ सय जनाले आयोजक सदस्य बनेका छन् ।

कालञ्जर क्षेत्र र गौशालाको विकासको लागि आयोजित महायज्ञलाई सफल बनाउनको लागि गाउँपालिकाले समेत आबश्यक पहल गरेको जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्लले बताए । उनले यस अघि गाउँपालिकाले गौशालाको पूर्वाधार निर्माण र कालञ्जर पर्वतको विषयमा डाक्टर जगन्नाथ रेग्मीले तयार पारेको पुस्तक प्रकाशनमा समेत आर्थिक सहयोग गरेको जानकारी दिए ।

यस विराट् ज्ञानमहायज्ञ एवम गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पुर्वाधार विकाससंगै म्याग्दीको भुरुङतातोपानी देखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौर सम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहाँसिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।

बृहत गाईपालनको योजना प्रस्ताब
गाई संरक्षणलाई प्रमुख उदेश्य राखिएको यस गौमहोत्सवबाट संकलन हुने रकमबाट अहिले धाईरिङमा रहेको गौशालाको क्षमता विस्तार गरि गाईपालनलाई बृहत बनाउने योजना अघि सारिएको छ । मुल आयोजक समितिले धाईरिङदेखि माथि विशाल जंगल रहेको र चरण क्षेत्रको अभाब नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो।

गौशालाको क्षमता विस्तार गर्न सकेमा अहिले बेनी, बागलुङ र कुश्मामा छाडा छोडीएका गाईलाई गौशालामा लगेर व्यवस्थित गरिनेछ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईको लागि चरण क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलको रुपमा उपयोग गर्ने योजना बनाइएको आयोजक समितिका आर्थिक संयोजक समेत रहेका बरिष्ट उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिए । महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचन संगै गाई पूजा, गौदान भजन कृतन समेत प्रस्तुत गरिनेछ ।

Leave a Reply