पश्चिम म्याग्दीको दरबाङबाट बिम तर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटनामा घटनास्थलमै चारजनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस ग १ ख ४४ ७६ दुर्घटना भएको थियो । घटनास्थलमै मृत्यु भएकाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई बताए ।

‘घाईतेको प्राथमिक उपचार केन्द्रतर्फ ल्याइदैछ,‘मृतकको शब गाडीले च्यापिएको अवस्थामा छ’ शर्माले भने । उनका अनुसार इलाका प्रहरी कार्यालय दरबाङबाट टोली घटनास्थलमा पुगेको छ । दरबाङका प्रनानी रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएको छ ।

म्याग्दी यातायात ब्यवसायी समिति प्रालि अन्तरगत सञ्चालित बसमा सवार यात्रुको विवरण सहित जानकारी लिन समितिले समेत आफ्नो टोलीलाई परिचालन गरेको छ । बसमा अन्दाजी ३० जना सवार रहेको अनुमान गरिएपनि राती भएकाले विवरण प्राप्त हुन सकेको छैन् । घटनास्थलमा स्थानीय समेत उद्धारमा खटिएका छन् । बिमको घुम्तीबाट बस खसेको थियो । यसैबीच घाईतेको उपचारका लागि बेनी अस्पतालमा समेत तयारी अवस्थामा राखिएको छ ।

बेनी अस्पतालमा आवश्यक जनशक्ती सहित दुर्घटनामा परेकालाई उपचारको तयारी भइसकेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । प्राथमिक उपचार केन्द्र दरबाङमा समान्य घाईते र गम्भीर घाईतेलाई एम्बुलेसन सहित अन्य सवारीसाधनमार्फत राती ११ बजेभित्र बेनीमै ल्याउने बताइपनि घाईतेको अवस्था यो समाचार तयार पार्दासम्म एकिन हुन सकेको छैन् ।