म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गत शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९५ नं को जीप दरवाङ–रुम सडकको ताक्सेमा पल्टिएर दुर्घटना भएको थियो । जीप पल्टिँदा भिरमा खसेर मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन घटनास्थलमै मृत्यु भयो । जीपको छतमा सवार रहेका तीनजना मध्ये एकजना रुखमा अड्किएको अवस्थामा उद्धार गरिएको थियो भने जीपभित्र बसेका १५ जना यात्रुलाई समान्य चोट लागेको थियो ।

छतमै सवार भएकै कारण दुईजनाले ज्यान गुमाए भने जीप पल्टिएर भिर नजिक पुगेपछि ठुलो मानवीय क्षती टर्यो । जीप दुर्घटना भएको दुई दिन लगत्तै मालिका गापा–७ बिमयात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भयो । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुदाँ मालिका–७ बिमकी ७० बर्षिय सतदेबी भट्टचन, बिमकै ११ बर्षिया आयुषा जुग्जाली, ९ बर्षिया रवी जुग्जाली र गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डेको घटनास्थलमै मृत्यु भयो भने बसमा सवार यात्रु घाईते भए ।

घाईतको प्राथमिक उपचार केन्द्र दरबाङ, बेनी अस्पतालसँगै जटिल अवस्थाका घाईतेलाई पोखराको मणिपालमा रिफर गरिएको छ । एउटै गाउँपालिकामा एक सातामै दुई सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । जोखिमपुर्ण सडक र चालकको लापरवाही, यात्रुलाई गन्तब्यमा पुग्न हतार जस्ता कारणले म्याग्दीका सडक दुर्घटना हुने गरेको छ । स्थानीय तहमै निर्वाचित जनप्रतिनिधिको मापदण्ड विपरितको सडक मोह, क्षमताभन्दा धेरै यात्रु बोकेर मनग्य कमाउने सवारीधनीको सपना र क्षमताभन्दा पनि चारगुणासम्म छतदेखि ढोकासम्म बाहिरै बसेर यात्रा गर्ने यात्रुको लापरवाही नै दुर्घटनाका प्रमुख कारण बन्दैछन् ।

केहीबर्ष यता ठूला दुर्घटना नभएपनि छिटफुट घटनामा सडकमै ज्यान गुमाउन रोकिएको छैन् । म्याग्दीमा स्थानीय तहको निर्वाचनपछि सडक सञ्जाल नै प्राथमिकतामा परेको छ । सडक स्तरउन्नतीभन्दा जनप्रतिनिधिको भोट र स्थानीयले घरसम्मै सडक जोड्न दिने दबावले समेत गुणस्तरीय सडकभन्दा हतारहतारमा ट्रयाक खोलेर यात्रु बोकेर कुदाउने गरिएको छ ।

ग्रामिण क्षेत्रका सडक मर्मतमा प्रयाप्त बजेट नहुनु, मर्मतको बजेट तोकिएको भन्दा फरक प्रयोग गर्ने, मापदण्डभन्दा असार मसान्तको चटारोमा ब्यस्त हुदाँ सडक नै विष्फोटक पर्दाथ एम्बुस बनेका छन् । सडकसँगै सिकारु चालकसँगै सवारीसाधन सञ्चालन अगाडी आवश्यक परिक्षण नगर्ने, तिब्र गतिमा गएर उकालोमा अलमलमा पर्ने जस्ता समस्याहरु समेत दुर्घटनाका कारण भएको म्याग्दीका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए ।

‘सडक, चालक र यात्रुकै कमजोरीले दुर्घटना भएका छन्,‘दुर्घटनालाई न्यूनिकरणका अभ्यासहरुमा तत्काल ध्यान दिनुपर्छ’ शर्माले भने । उनले म्याग्दीमा सामान बोक्ने सवारीसाधनले समेत खचाखच यात्रु बोक्ने गरेको बताउँदै दुर्घटना न्यूनिकरणमा सबैक्षेत्रबाट कडाई गर्नुपर्ने बताए । उनले हरेक बर्ष सडक दुर्घटनामा म्याग्दीमा जान जाने गरेको बताए ।

म्याग्दीका ठूला सडक दुर्घटना
जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा यात्रुवाहक जिप दुर्घटना हुदाँ घटनास्थलमै १३ जनाको मृत्यु भयो । राम्चेबाट यात्रु लिएर सदरमुकाम बेनी आउँदै गरेको १ ज ४३२४ हिस्तानको गिद्देश्वर मन्दिर नजिकै दिउँसो दुर्घटना भएको थियो । २०६५ साल असोज १६ गते बेनी–दरबाङ सडक अन्तरगत तोलावाङमा ना ३ ख ४८०९को बस दुर्घटना हुदाँ ३ जना यात्रुको मृत्यु, २०६६ साल साउन १२ गते बेनी–दरबाङ सडककै बेनीनगरपालिका–६ डम्बरामा ना ३ ख ४३७९ नम्बरको माईक्रोबस दुर्घटनाग्रस्त हुदाँ ७ जनाको मृत्यु, २०६७ असोज १९ गते मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा सोह्रश्राद्धमा जाने क्रममा अन्नपुर्ण गाउँपालिका–३ को बाँदरजुङ भिरमा जिप दुर्घटनाग्रस्त हुदाँ १४ जनाको मृत्यु,२०६८ साउन ७ गते बेनी–जोमसोम सडक अन्तरगत ग१त १२३९ नम्बरको ट्याक्सी बेनपा–९ जलेश्वरबाट कालीगण्डकीमा खस्दा चालक सहित सातजना बेपत्ता भएका थिए ।

उक्त ट्याक्सी दुर्घटनामा परेका एक यात्रुबाहेक अन्यको यात्रुको शव नै फेला परेन् । २०६८ असोज १ गते आइतबार बेनी दरबाङ सडककको मंगला गाउँपालिका–२ रणबाङको उकालोमा ग १ ख २७०४ नम्बरको मिनीबस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । जोखिमपुर्ण सडकसँगै सस्तो मुल्यका मेसिनरी सामानको प्रयोग र अनुभव नभएकालाई समेत धमाधम लाइसेन्स वितरण गर्दा समेत दुर्घटना हुन थालेपछि सर्वसाधारण चिन्तित भएका छन् ।

किन बन्दैनन् दुर्घटना छानविन समिति ?
सडकमार्गमा दुर्घटना भएको एकदुईदिन त्यसका बारेमा चर्चा हुने गरेको भएपनि वास्तविक कारण पत्ता लगाउन छानविन समिति मार्फत अनुसन्धान गर्ने तर्फ कसैको चासो छैन् । समान्य हवाई दुर्घटना भएको दुईमिनेटमै उच्चस्तरिय छानविन समिति बनाउने गरिएको भएपनि ठुलो मानविय क्षती हुने गरी भएका सडक दुर्घटनप्रति राज्यले चासो नभएको यात्रुको भनाई छ ।

२०६८ असोज १ गते आइतबार बेनी दरबाङ सडककको मंगला गाउँपालिका–२ रणबाङको उकालोमा भएको दुर्घटनाको छानविन गर्न एउटा समिति बनाएपनि त्यसको बैधानिकता माथि प्रश्न उठाइएको थियो । त्यसयताका कुनै पनि दुर्घटनाको छानविनका लागि समिति बनेको छैन् ।‘दुईदिन चर्चा हुन्छ, त्यसपछि दुर्घटनाका कारणका बारेमा कसैलाई चासो हुदैन’ मानवअधिकारकर्मी राजमी सुबेदीले भने ।

उनले म्याग्दीमात्रै नभई नेपालमा भएका सडक दुर्घटनालाई छानविन गर्न छुटै निकाय बनाउनुपर्ने बताए । उनले सडक दुर्घटना र हवाई दुर्घटनालाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्ने बताए । दुर्घटनाको छानविन गर्न सकेमा दुर्घटना न्युनिकरणमा सहज हुने बताए । दुर्घटनामा सडक, चालक, यात्रुको कारण हुनसक्ने भन्दै एउटा दुर्घटनाको छानविनको प्रतिवेदन सार्वजनिक भएमा त्यसले अन्य दुर्घटनालाई रोक्न सक्ने बताए । उनले छानविन समिति बनेमा घटनाको तथ्य पत्ता लगाउन सहज हुने बताए । बर्खायाममा अवरुद्ध भएका सडकलाई समान्य मर्मत गरी सञ्चालन गर्दा दुर्घटना हुने गरेका छन् ।