पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । दुर्घटनामा परेर घाइतेमध्ये ५ जनाको अहिले बेनी अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाका अन्य घाइतेहरु बेनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार गरी घर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दरबाङबाट बिमका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेर मृत्यु हुने गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीकी ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिम म्याग्दीकी ७० वर्षीया सतदेवी भट्टचन, ९ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया आयुसा जुग्जालीको शव बेनी अस्पतालको शवगृहमा राखिएको छ । मृतकको पोष्टमार्टम गरी दुईजनालाई बिम र एकजनालाई गुल्मी लैजाने पारिवारिक श्रोतले जनाएको छ ।मृतकहरुको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर घाइते भएका २८ जना सबैको परिचय खुलेको प्रहरीले जनाएको छ । घुम्तीमा टर्निङ नपुगेर बस दुर्घटना भएको बताइएको छ भने बसका चालक अहिले इलाका प्रहरी कार्यालय दरबाङको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइएको छ भने बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।