Amit Sherchan Photo: Dinesh Gole/ Nepal News

म्याग्दी पुख्यौली घर भएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस  म्याग्दी जिल्लाको मालिका गाउँपालिका–४ ओखरबोटमा अमित शेरचनको जिर्ण घर छ । सुकबहादुर विकले शेरचनको घर सम्हालिरहेका छन् । गाउँमा बेलाबेलामा विभिन्न कार्यक्रममा पनि उनी पुग्छन् । ओखरबोटमा जन्मिएर चितवन बसाईसराई गरेपनि शेरचनले आफ्नो गाउँमा हुने ठूला कार्यक्रमको प्रत्यक्ष वा अप्रत्यक्ष निम्तो पाइरहन्छन् ।

तत्कालिन समयमा पहिलो संविधानसभाको निर्वाचनमा चुनावी प्रचारप्रसारमै सहभागी हुने गरी आएका शेरचनले उपप्रधानमन्त्रीको जिम्मेबारी सम्हालेपछि पनि सडक उद्घाटन लगाएतका कार्यक्रममा गाउँमा पुगेका थिए ।म्याग्दी जन्मिएर चितवनबाट सक्रिय राजनीतिकमा रहेका शेरचनलाई सरकारले सोमबार गण्डकी प्रदेश प्रम्ुखमा सिफारिस गरेको छ । राष्ट्रपतिले प्रदेश प्रमुखलाई सपथ खुवाउने कार्यक्रम रहेको छ।

एक समय जनमोर्चा नेपालका अध्यक्ष समेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय छन् । शेरचन गण्डकी प्रदेश प्रमुखमा चयन भएपछि विकास निर्माणमा पछाडी परेको ओखरबोटबासीमा विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छन्। ‘उहाँ गण्डकी प्रदेशमा आउँदा हामीलाई केही आशा पलाएको छ,‘गाउँको विकासका लागि प्रत्यक्ष सहयोग माग्न सहज भएको छ’ ओखरबोट माविका शिक्षक नविन पुनले भने । उनका अनुसार गण्डकी प्रदेशमार्फत विकास निर्माण सहित विद्यालयको सहयोगका लागि गाउँलेले समेत धेरै आश गरेको बताए । ‘समाचार सुनेपछि गाउँका बुढापाकाले आश गरेका छन्,‘उहाँको पद कार्यकारी नभएपनि सहयोग हुन्छ भन्ने आशा छ’ पुनले भने ।

ओखरबोटमा रहेको तामाखानी सञ्चालनमा ल्याउन, ओखरबोट माविको जिर्ण भवन लगाएत स्थानीयबासीको समस्या समाधानमा विषेश ध्यान दिन अनुरोध गर्ने गाउँलेको भनाई छ । अन्य प्रदेशमा प्रमुख बनाउने तयारी गरेको अवस्थामा शेरचनले गण्डकी प्रदेश रोजेको बताइएको छ । शेरचनलाई म्याग्दीबाट प्रथम तथा देोस्रो संविधानसभाको निर्वाचन, प्रतिनिधिसभामा समेत म्याग्दीबाट चुनावमा प्रतिस्पर्धा गर्न अफर समेत आएको थियो ।