‘म इन्जिनियर हुन्छु बुवा । तपाई अझै ठूलो मान्छु हुनु’ म्याग्दी मालिका गाउँपालिका–७ बिमकी ११ बर्षिया आयुशा जुग्जालीले पटक–पटक बुबा रेशम जुग्जालीसँग भन्थिन् । बुबाको दैनिक जिम्मेबारीलाई समेत नजिकबाट निहाल्ने आयुषाले सक्रिय राजनीतिमा रहेका बुबालाई अझै ठुलो भएको देख्ने चाहना मात्रै थिएन् आफुँ पनि भविस्यमा इन्जिनियर बन्ने सपना बुनेकी थिईन् ।

सानैदेखि पढाईमा राम्रो आयुषा गाउँकै किसानी माविमा कक्षा ६ मा अध्ययरत थिईन् । कक्षाकै अब्बल विद्यार्थी आयुषाले कलिलै उमेरमा इन्जिनियर बन्ने लक्ष्याबाट शिक्षक समेत दंग थिए ।आयुषाको शिक्षाप्रतिको लगावलाई अभिभावकले समेत निरन्तर साथ दिइरहेका थिए । आइतबार साँझ दरबाङबाट बिमतर्फ जादै गरेको ग १ ख ४४७६ नम्बरको यात्रुबाहक बस बिमको लुरबाङ स्थित गलघण्टीमा दुर्घटना हुदाँ आयुशाको इन्जिनियर बन्ने सपना सडकमै पोखिएको छ ।

नियतिले कलिलो कोपिलालाई चुँडेर लग्यो । सडक दुर्घटनामा छोरी गुमाएपछि जुग्जालीले सामाजिक सञ्जालमा पोखेका पीडाले परिवार र आफन्तको मात्रै होइन शुभचिन्तकको आखाबाट समेत आँशु थामिएको छैन । सन्तानका धेरै रहरहरु पुरा गर्ने योजना बनाइरहेको अवस्थामा एक्कासी गुमाउनुपरेपछि जुग्जालीले छोरीको सपना पुरा नगर्न नपाएको बताएका छन्। ‘यो जुनिमा पाईन्, अर्को जुनिमा तिम्रो सपना पुरा गर्ने प्रयास गर्छु’ जुग्जालीले सामाजिक सञ्जालमा लेखेका छन् ।

बस दुर्घटनामा एउटै गाउँबाट दुईै बालबालिकासँगै तीनजनाले ज्यान गुमाएपछि बिममा पीडाको बादल छाएको छ ।
राजनीतिकसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेका जुग्जालीको दुई सन्तान मध्ये आयुशा जेठी छोरी हुन् भने उनको भाई छन् । उनले आमा ज्योतीलाई समेत घरायसी काममा समेत सघाउने गर्दथिन् । सोमबार बेनी अस्पतालबाट पोष्टमार्टम गरी आयुशाको गाउँमै अन्त्येष्टी गरिएको छ ।

आइतबार साँझ भएको दुर्घटनामा मालिका–७ बिमकी ७० बर्षिय सतदेबी भट्टचन, किसानी माविको कक्षा ३ का छात्र ९ बर्षिया रवी जुग्जाली र गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाईते २८ जनामध्ये ५ जनाको थप उपचारका लागी पोखरा पठाइएको छ । एकै विद्यालयका आधारभुत तहका दुई विद्यार्थीलाई गुमाएसँगै विद्यालय परिवार समेत स्तब्ध छ । दुर्घटनामा विद्यालयका शिक्षक तथा विद्यार्थी समेत घाईते छन्।