म्याग्दीको सदरमुका बेनीको प्रवेशद्धार कालिपुलमा करिव एक किलोमिटर कालोपत्रको काम सुरू भएको छ । हिलाम्मे सडकका कारण अस्तब्यस्त सडकमा पक्की नाली सहित पक्कीपुलदेखि पेट्रोलपम्पसम्मको सडक कालोपत्रका लागि सडकमा धमाधम काम भइरहेको बेनी नगरपालिका प्रबक्ता एवम् वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीले बताए ।

‘सडकले गलत सन्देश प्रवाह भइरहेको थियो,‘बसपार्क क्षेत्रलाई नमुना बनाउने गरी काम भइरहेको छ’ बराईलीले भने । उनका अनुसार प्रदेश सरकार अन्तरगत पूर्वाधार कार्यालयमार्फत ४ करोड ५० लाखको ठेक्कामा निर्माण ब्यवसायी विपिन खड्कामार्फत भइरहेको कालोपत्र सहितको योजनालाई समयमै सम्पन्न गर्ने गरी अगाडी बढेको उनले बताए ।

कालोपत्रसँगै बसपार्कमा ब्यवस्थित पार्किङ सहित सफा र सुन्दर बनाइने नगरपालिकाले जनाएको छ । कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोर दोहोर गर्ने यात्रुले  म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेका थिए । ११ मिटरको कालोपत्रसँगै पुरानो समस्या समाधान हुनेमा कालिपुलबासी ढुक्क छन् ।

बेनीबजारमा दुईपटकसम्म कालोपत्रे भएपनि कालिपुल क्षेत्रमा सडक र बसपार्क क्षेत्र कालोपत्रे हुन नसकेको अवस्थामा जिल्लाबाट राजनीतिक दलका प्रतिनिधिहरु सहितको टोलीले डेलिगेसन गएर दवाव समेत दिने गरेका थिए । बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारी साधन पार्किङ गर्ने समस्याले सानाठुला सवारीसाधन मनपरी राख्ने गरिएको थियो ।

विज्ञापन