म्याग्दीकी अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली घोषणा

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुणा शाहीको कप्तानीमा प्रथम एभीसि एसियन सेन्ट्रल जाने महिला भलिबल च्याम्पियनसिपको लागि नेपाली भलिबल टोलीको घोषणा गरिएको छ । शुक्रबारदेखि बंगलादेशमा सुरु हुने प्रतियोगिताको लागि नेपाल भलिबल संघले मंगलबार अरुणाको कप्तानीमा १२ सदस्य नेपाली टोलीको घोषणा गरेको हो ।

थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेलपछि सोमबार स्वदेश फर्किएको १८ सदस्य टोलीबाट संघले १२ सदस्य राष्ट्रिय महिला भलिबल टोली छनोट गरेको हो । टोलीमा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठले स्थान बनाएका छन् ।

टोली बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।सेन्ट्रल जोनका लागि उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसीले स्थान बनाउन सकेनन् । अर्को महिना स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टोलीमा फेरबदल हुन सक्ने संघले जनाएको छ । सागमा १४ खेलाडी सम्म टोलीमा राख्न पाउने प्रावधान रहेको बताइएको छ ।नेपाली राष्ट्रिय महिला भलिबलको मुख्य प्रशिक्षकमा जगदिश भट्ट, प्रशिक्षक सलिना श्रेष्ठ र भरत यादव र टिम व्यवस्थापकमा रीता कोइराला रहेका छन् ।