चाँदी झै हिमाल टल्कने गाउँ, एकपटक घुम्नै पर्ने ठाउँ (फोटो फिचर)

समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटरको उचाइमा रहेको म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ९ जना संस्थापक सहित ३३ जना व्यावसायीहरुको करिव ३ करोडको लागतमा संचालित टोड्के रिसोर्ट प्रालिले पर्यटकहरुलाई आर्षित गर्नका लागि गज्जबको उपाय अबलम्बन गरेको छ ।

परम्परागत तरिकाले कुनै पनि व्यवसाय अव सफल हुन सक्दैन भन्ने कुरा बुझेका रिसोर्ट संचालकहरुले पर्यटकीय स्थल टोड्केको प्रचारप्रसारसंगै आफूलाई पनि व्यवसायिक लाभ हुने बताएका छन् । म्याग्दीको रघुगंगा, मंगलागाउँ पालिका र बेनी नगरपालिका गरी तीनओटा स्थानीय तहको बोर्डर (सीमा)मा रहेको पर्यटकीय स्थान टोड्केको टोड्के रिसोर्ट प्रालीमा शनिवार नितान्त नौलो कार्यक्रम गरेर पर्यटकको ध्यान आकर्षित गरिएको छ ।

म्याग्दी जिल्लामा जन्मिएर संसारका विभिन्न देशहरुलाई कर्मथलो बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका ५० वर्ष माथिका ५ जना खेलाडीहरुलाई सम्मान गर्नुका साथै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा भाग लिने ह्याण्ड बलका खेलाडीहरुलाई टोड्केमा बोलाएर हाइअल्लिच्यूड तालिमको समेत आयोजना गरेर टोड्के हिल रिसोर्ट प्रालीले पर्यटकको ध्यानाकर्षण गराएको हो ।

हाइलल्लिच्यूड स्थानमा तालिम लिएपछि शहरी क्षेत्र वा बढि तापक्रम भएका ठाउँहरुमा खेल खेल्दा खेलाडीलाई पनि फाइदा पुग्ने राष्टिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए । उनले पर्यटकलाई आकर्षित गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम भनेको प्राकृतिक सुन्दरता र त्यसपछि खेलकुद नै भएको बताउँदै टोड्केको पर्यटन प्रवद्र्धनमा पनि खेलकुद महत्वपूर्ण माध्यम भएकोले यहाँ एउटा हाइअल्लिच्यूड मापदण्डको खेलमैदान आवश्यक रहेको औल्याए ।

कस्तो छ टोड्के

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत दुई घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्के प्राकृतिक सौन्दर्यले युक्त शितोष्ण हावापानी भएको लेकाली ठाउँ हो । यहाँबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।

टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ ।आलु,फापर र मुलाका लागि प्रख्यात ठाउँ हो टोड्के । आँखै अगाडी चाँदी झै टल्केका हिमश्रृङ्खला,चैत बैशाखमा राताम्यै फुल्ने लालिगुराँस, आग्र्यानिक खानाका परिकार,सुविधायुक्त बसाई,पारिवारिक वातावरण,जंगलीजनावरको अवलोकन आदि यहाँका विशेषता रहेका टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताए ।

‘टोड्के प्रचुर पर्यटकीय सम्भावनाले युक्त ठाउँ रहेछ, राष्टिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने ‘यसको प्रचारप्रसार गर्ने हो भने यो ठाउँमा धेरै पर्यटकहरु आउने मलाई लागेको छ ।त्यसैगरी नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले स्वर्गीय आनन्दको अभूतपूर्व अनुभूति हुने ठाउँको रुपमा टोड्केलाई अर्थाए । उनले भने ‘यहाँबाट हिमाल र पहाडको अति रोमाञ्चक दृश्य देखिदो रहेछ, आहा कति आनन्दा आउने ठाउँ ।‘

खेलाडीलाई हाइअल्टिच्यूड तालिम

आसन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) गेममा नेपालको तर्फबाट सहभागि हुने ह्याण्डबलका खेलाडीहरुलाई समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटर उचाइमा रहेको म्याग्दीको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्यूड तालिम आयोजना गरिएको छ ।

टोड्के रिसोर्ट प्रालिको आयोजना र राष्ट्रिय खेलकुद विकास परिषद्को व्यवस्थापनमा शनिवारदेखि शुरु भएको तालिमको राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरे ।

महिला र पुरुष गरी गरिब ५० जना खेलाडीहरुको सहभागिता रहेको तालिम र ५० वर्ष माथिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडीहरुलाई सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष तिम्सिनाले खेलकुदको माध्यमबाट नेपालमा पर्यटन विकास गर्न सकिने बताएका छन् ।उपाध्यक्ष तिमिल्सीनाले खेल पूर्वाधारको विकाससंगै खेलाडीहरुको हितमा नीतिगत सुधारको पहल गरिएको बताए ।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीहरुलाई उच्च स्थानमा तालिम प्रदान, जेष्ठ खेलाडीहरुको योगदानको कदर र टोड्केको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भीम शेरचनले बताए ।

समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटरको उचाइमा अवस्थित टोड्केको खेलमैदानमा १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि हुने ह्याडबल खेलको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले टोड्के हाइअल्टिच्यूट गेमका लागि अति उपयुक्त स्थान रहेको बताएका छन् ।

पोखरामा बन्द प्रशिक्षणमा रहेका पुरुष र महिला ह्याडबलका १६÷१६ जना खेलाडी र अफिसियलगरी ५० जना खेलाडीहरु म्याग्दी आएका छन् । उनिहरुबीच शनिबार टोड्केमा मैत्रीपूर्ण खेल खेलाइएको थियो । खेलाडीहरुलाई मानसिक र शारिरिक प्रशिक्षण गराइएको थियो। खेलाडीहरुको तनाव व्यवस्थापन र मानसिक तयारीका लागि टोड्के उपयुक्त स्थान भएको ह्याडबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । आउदा मंसिर १५ देखि २४ गतेसम्म पोखरामा १३ औ साग अन्तरगत ह्याडबल महिला र पुरुष सहित ९ वटा खेलहरु हुने भएका छन् । तालिम आइतबार समाप्त हुने जनाइएको छ ।