निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब÷भत्ता खुवाउने उद्देश्यसहित देउसीभैलो खेलेर विद्यालयका लागि साढे तीनलाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन भएको छ । यस वर्षको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा खेलिएको देउसी भैलोबाट विद्यालयलाई आर्थिक स्रोत जुटाइएको हो ।

म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयको आयोजनामा खेलिएको देउसी भैलोबाट नगद तीनलाख ६४ हजार चारसय ८१ रुपैयाँ सङ्कलन भएको छ । तिहार पर्वको अवसर पारेर ७ दिनसम्म सञ्चालन गरिएको देउसी भैलोबाट सो परिमाणको रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयको आयोजनामा चिप्लेटीसहित छिमेकी गाउँहरु पुलाचौर, नयाँगाउँ र गाजनेसम्म पुगेर देउसीभैलो खेलिएको थियो ।

विद्यालयले पहिलो दिन २९ हजार चारसय ५५, दोस्रो दिन ३४ हजार पाँचसय २५, तेस्रो दिन ३० हजार दुईसय ८०, चौथो दिन ६५ हजार ५५, पाँचौं दिन ७१ हजार आठसय ९०, छैटौं दिन ३२ हजार छ सय ९१ र अन्तिम अर्थात् सातौं दिन एकलाख पाँचसय ८५ रुपैयाँ सङ्कलन गरिएको विद्यालयका शिक्षक भरत कार्कीले जानकारी दिए । देउसीभैलो कार्यक्रममा सबैभन्दा धेरै रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको घर परिवारबाट नगद ५० हजार रुपैयाँभन्दा बढी सहयोग भएको छ ।

यसैगरी देउसीभैलोमा विद्यालयका पूर्व शिक्षक सञ्जय कुँवरको घर परिवारबाट नगद २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग भएको छ । त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष श्रीकृष्णलाल विश्वकर्माले नगद १७ हजार रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्भने विद्यालयका जग्गादाता स्वर्गीय पोशकबहादुर खत्रीको परिवारबाट पनि १७ हजार रुपैयाँभन्दा बढी सहयोग भएको छ । त्यसैगरी पूर्वप्रधानाध्यापक गणेशबहादुर कार्कीले १० हजार छ सय ६६ रुपैयाँ सहयोग गरेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालय सञ्चालन गर्नका लागि आर्थिक स्रोतको अभाव भएपछि देउसीभैलो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक नारायण उपाध्यायले बताएका छन् । देउसीभैलोमा सङ्कलित रकम विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीका लागि खर्च गरिने उनले बताए । छिमेकी गाउँ डडुवाको ज्योती स्पोट्स युवा क्लबले आधिकारीक पत्र लेखेरै भैलो खेल्न रोक लगाएको अवस्थामा पनि अपेक्षा गरेभन्दा धेरै रकम सङ्कलन गर्न विद्यालय सफल भएको गाउँलेले बताएका छन् ।

विद्यालयले गाउँमा लाहुरे स्वागत कार्यक्रम सञ्चालन गरेर आर्थिक स्रोतको जोहो पनि गर्दै आएको छ । २०४१ सालमा स्थापित १–५ कक्षा रहेको विद्यालयमा हाल ४० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्भने दरबन्दीका ३ र निजी स्रोतबाट २ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । सरकारले पर्याप्त दरबन्दीको व्यवस्था गर्न नसक्दा ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरु आर्थिक चपेटामा पर्दै आइरहेका छन् ।

Leave a Reply