गाँजा नष्ट गर्न ठूलो संख्यामा प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो सङ्ख्यामा जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङ्ग, कैलाश गाउँपालिकामा लगाइएको गाँजाखेती नष्ट गर्न प्रहरी परिचालन गरेको छ । हिजो (बिहीबार)बाट सुरु गरिएको अभियानका लागि जनपद प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८१ जना प्रहरी टोली राक्सिराङ्ग, कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गर्न पुगेको छ ।

प्रहरीले हिजो मात्रै करिब साढे तीन बिगाहामा लगाइएको गाँजाखेती नष्ट गरिसकेको जनाएको छ । प्रहरीका अनुसार समाजमा आपराधिक कार्य हुनका लागि लागूऔषध मुख्य कारण रहेकाले यसको निर्मूल गर्नु सबैको दायित्व रहेको बताउँदै आएको छ । गाँजा खेती नष्ट गर्न प्रहरी परिचालन भए पनि स्थानीय सरकार, जनप्रतिनिधिहरुको कुनै पनि साथ नपाउँदा आफूहरूलाई कठिन भएको बताएको छ ।

प्रहरीका अनुसार जनप्रतिनिधिहरु चुनाबमूखी र भोटको रानीतिरबाट प्रेरित हुनाले खुलेर गाँजाखेतीको विरुद्धमा आउन नसकेको प्रहरीको बुझाई रहेको छ । स्थानीय सरकारले वैकल्पिक आयआर्जनको व्यवस्था गरिदिने हो भने लागूऔषध गाँजाखेती निर्मूल हुन सक्ने भनाई रहेको छ । प्रहरी भन्छ, कतिलाई पक्रिने ? गाउँपालिकाका सबै भूभागमा गाँजा खेती भइरहेको छ । पक्राऊ गर्ने हो भने हामीलाई राख्ने ठाउँ समेत हुन्न ।

सकेसम्म नष्ट गर्ने तथा समाधानका लागि जनचेतना र आयआर्जनको वैकल्पिक व्यवस्था बाहेक अर्को उपाय नै नरहेको प्रहरीको बनाई रहेको छ । हिजोबाट परिचालित प्रहरीले जनचेतनामूलक कार्यक्रम का साथै ५ दिनसम्म सो क्षेत्रका गाँजाखेती नष्ट गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । जिल्लाको सो विकट क्षेत्रमा खटिने प्रहरी रातमा विद्यालय, सार्वजनिक चौतारोहरूमा बास बस्ने गरेका छन् । गाँजाखेती नष्ट गर्ने प्रहरीका लागि राज्यका तर्फबाट प्रोत्साहन स्वरूप केही पनि नपाएको त्यहाँ खटिने प्रहरीको गुनासो रहेको छ ।

मकवानपुर जिल्ला लागूऔषध गाँजा, अफिम खेतीका लागि अग्रणी स्थानमा रहेको छ । प्रदेश ३ का सबै जिल्ला गरी गत आर्थिक वर्षमा करिब ४ हजार केजी लागू औषध गाँजा प्रहरीले बरामद गरेकोमा मकवानपुरबाट मात्रै करिब ३ हजार केजी बरामद गरेको थियो । Source: News24nepal.tv