यस्तो देखियो पुर्व यूवराज पारसको मुक्तिनाथ यात्रा

म्याग्दीको सदरमुकाम बेनी हुदै मुस्ताङ गएका पारसले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गरेका छन् । आफ्ना शुभचिन्तक र सहकर्मीसाथ मन्दिरमा प्रवेश गरेका शाहले आफ्ना सहकर्मी बाहेकलाई तस्वीर समेत नलिन अनुरोध गरेका थिए । मन्दिर दर्शनका क्रममा उनले विधिपूर्वक पूजा गर्ने प्रयास गरेपनि हतारहतारमा मन्दिरको दर्शन गरी धारामा स्नान गदैं मन्दिरका बारेमा जानकारी लिएर शुक्रबार सडकमार्ग हुदै म्याग्दीतर्फ प्रस्थान गरेको मुस्ताङ प्रहरीले जनाएको छ ।

केहीदिन अगाडी पोखरामा देखिएका पारस सोमबार सडकमार्ग हुदै बेनीमा प्रवेश गरेका थिए । बेनी हुदै मुस्ताङ जाने योजनामा रहेका शाह बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीको अवलोकन गरी बेनीस्थीत होटल यतिमा बसेका थिए ।

त्यसलगत्तै अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीस्थित होटल हटस्प्रिंग इनमा विहानको खाना खाएर मुस्ताङतर्फ प्रस्थान गरेका शाह मुस्ताङको मोक्ष होटलमा बास बसेका थिए। लामो कपाल, लेदरको पाइन्ट, ज्याक डेनियल्स प्रिन्ट भएको कालो टिसर्टमा देखिएका शाहले सोही पोशाकमै मुक्तिनाथमा रहेको धारामा टाउको भिजाएका थिए ।

पछिल्लो समय परिवारभन्दा साथीहरुसँग धेरै देखिने पारसले मुड फ्रेससँग भ्रमणलाई ब्यक्तिगत र धार्मिक भएको बताएका छन्। आफ्नै निजी सवारीसाधन लिएर बुधबार पारस मुस्ताङ पुगेका थिए। मुक्तिनाथ दर्शनका क्रममा शाहले केही दृश्यहरू सार्वजनिक भएका छन्। उनले मुक्तिनाथलाई हात र घुँडा टेकेर ढोगेका छन्।