अभिभावकद्धारा विद्यालयलाई २१ हजार सहयोग

आफ्नो छोराको जन्मदिनको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा संचालित बुद्ध एकेडेमीलाई एक अभिभावकले २१ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।  बुद्ध एकेडेमीको कक्षा ७ मा अध्ययनरत साजन तिलिजाको जन्मदिनको अवसरमा आमा तमायाँ तिलिजा र बुबा नरबहादुर तिलिजाले गत असोज ४ गते कोटखोलामा आएको बाढीले क्षति पुर्याएको विद्यालयको पुननिर्माणमा सानै भएपनि सहयोग पुगोस भन्ने उद्धेश्यले २१ हजार ५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

‘प्राकृतिक प्रकोपका कारण विद्यालयले ठूलो क्षति व्यहोर्नु पर्यो, अभिभावक तमायाँ तिलिजाले भन्नुभयो ‘छोराको जन्मदिन पारेर सानो रकम भएपनि सहयोग गरेका हौं । बाढीले क्षति पुगेको विद्यालयको पुनःनिर्माण सम्पन्न भै अहिले नियमित रुपमा अध्यन अध्यापनकार्य भैरहेको छ । ‘यति छोंटो समयमा पनि बाढीले त्यति धेरै क्षति पुर्याएको विद्यालय पुनःनिर्माण गरी नियमित पठनपाठन संचालन गरेकोमा उहाँले विद्यालय परिवारलाई धन्यवाद समेत दिनुभयो ।

आफूले अध्ययन गरेको विद्यालय कोटखोलामा अप्रत्यासितरुपमा आएको बाढीले क्षति पुर्याएको खवर थाहा पाएपछि देश विदेशमा रहेका पूर्व विद्यार्थी र उनीहरुका अभिभावकहरुले पनि आर्थिक सहयोग गरिरहेका विद्यालय संचालक समितिका सदस्य एवम् लेखापाल देवी थापा मगरले बताउनुभयो । विद्यालय पहिलेकै अवस्थामा आइसकेको, पहिलेको भन्दा अझ व्यवस्थितरुपले पुननिर्माण गरिएको र अव विद्यालयमा कुनै पनि किसिमको जोखिम नरहेकोले विद्यालयका संचालक÷ निर्देशक राजकुमार थापाले जानकारी दिनुभयो ।