काठमाण्डौमा रहेका म्याग्देलीहरू आवद्ध रहेको एक संस्थाले यस बर्षको दीपावलीमा देउसीभैलो खेलेर संकलन गरेको रकम शैक्षिक तथा सामाजिक कार्यमा सहयोग गरेको छ। बरंजा–भकिम्ली माईटी कुटुम्ब समाज-काठमाण्डौले काठमाण्डौमा देउसीभैलो कार्यक्रम मार्फत सङ्कलन गरेको ५ लाख ९६ हजार आर्थिकमध्ये कलाकार सहित विभिन्न ब्यवस्थापन खर्च कटाएर ३ लाख ८० हजार सहयोग गरेको छ ।

समाजले देउसीभैलोको रकमबाट बेनी नगरपालिका वडा नं ३ भकिम्लीको जयन्ती माविलाई १ लाख ५० हजार, महेन्द्ररत्न मावि बरंजालाई १ लाख ५० हजार, मंगला गापा–३, ४ वडाले प्रयोग गर्ने शवगृहलाई ५० हजार र बरंजाको सिमकुनामा आगलागीबाट धनमाल जलेर नष्ट भएबका भिमबहादुर थापालाई ३० हजार सहयोग गरेको समाजका अध्यक्ष कमल पुनले बताए ।

‘ब्यवस्थापनको खर्च बाहेक सम्पूर्ण सहयोग गरेका छौ,‘देउसीभैलोमा रचनात्मक सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछौ’ पुनले बेनीअनलाइनलाई भने ।

बिश २०६९ सालमा स्थापना भएको संस्थामार्फत भकिली, बरंजा सहित प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गदैं आइरहेको छ । कानुनी रुपमै दर्ता भएको संस्थाले भविस्यमा पनि थप योजना सहित अगाडी बढ्ने जनाएको छ । देउसीभैलो खेलेर पिकनिक खाने, संस्थागत गतिविधिमै खर्च गर्ने गरिएको अवस्थामा समाजले ब्यवस्थापन खर्च कटाएर सबै सहयोग शैक्षिक तथा सामाजिक कार्यमा सहयोग गरेर सन्देश प्रवाह गरेको छ ।