अरुणा शाहीको कप्तानीमा नेपालले एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा किर्गिस्तानमाथि सहज जित निकालेको छ । थाईल्याण्डमा सम्पन्न अभ्यास र मैत्रीपूर्ण खेलपछि शाहीको कप्तानीमा भएको दोस्रो खेलमा समेत नेपालले सहज विजयलाई निरन्तरता दिएको हो ।

उपाधिको दावेदार समेत रहेको नेपालले ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सहज जित निकालेको हो ।  यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो जित निकालेको थियो । पहिलो टेक्निकल टाइमअघि नेपालले ८–७ को अग्रता लिएको थियो । त्यसपछि नेपालले लगातार १० अंक जोड्दै १८–८ को आरामदायी स्थितिमा ल्याउदै पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपालले २५–१९ को जित निकाल्यो ।

राम्रो शुरुवात गरेपनि नेपाले मध्यतिर अंक गुमाउदा किर्गिस्तानले १ अंकको अग्रता लिएको थियो । तर, त्यसपछि नेपालले खेलमा पूनरागमन गर्दै जित निकाल्यो । तेस्रो सेटमा पनि किर्गिस्तानले नेपाललाई टक्कर दिने प्रयास गरेपनि नेपाल २५– २० को सेटमा विजयी रहन सफल भयो । जितसँगै अपराजित रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित किर्गिस्तानको १ अंक छ । प्रतियोगितामा नेपालको तर्फबाट म्याग्दीका क्याप्टेन अरुणा सहित कमला पुन समेत छिन् । Source: hamrokhelkud.com

विज्ञापन