साँधुरो बेनीबजारमा हुलका हुल मानिस आवतजावत, साँधुरा गल्लीहरूमा रोकिएका सवारीसाधन, मुख्य बजार क्षेत्रमा ठूला सवारीसाधनको रँजाई । दैनिकजसो बेनीबजारमा जथाभावी पार्किङले अस्तब्यस्त बन्दै गइरहेको छ । मनोमानी ढंगले बजारक्षेत्रमा सानादेखि ठूला सवारी साधन पार्किङ गरिँदा चोकैपिच्छे पार्किङस्थल जस्तै बनेको छ ।

साना पसलदेखि बैंक, वित्तीय संस्था र व्यापारिक प्रतिष्ठान अगाडि सवारी साधनको अनियन्त्रित पार्किङले बजारको सुन्दरतामा नै ह्रास आएको छ। ठूला सवारीसाधनलाई बजार प्रवेशको उचित समय तालिका निर्धारण नगर्दा, विद्यालय समयमा आवतजावतमा तोकिएको समयलाई समेत कार्यान्वयनमा बेवास्ता गर्दा बेनीबजार क्षेत्रको ट्राफिक ब्यवस्था अस्तब्यस्त् भएको बजारबासीको भनाई छ ।‘

ठूला सवारीसाधनहरूले बाटो नै छेकेर बस्छन्,‘ट्राफिकको प्रयास गरेजस्तो देखिन्छ’ न्यूरोडका होटल ब्यवसायी गोपाल पौडेलले भने । उनले ठूला सवारीसाधनले आधाबाटोसँगै ब्यापारमा समेत प्रत्यक्ष असर गरेको बताए । उनले बजार क्षेत्रमा दिउँसोको समयमा ठूला सवारी साधनलाई निश्चित समयावधि तोकेर मात्रै बजार प्रवेश गर्ने व्यवस्था हुनुपर्ने बताए ।

उनले विद्यालय समयमा समेत ठूला सवारीसाधनलाई बजारभित्र प्रवेश गर्न नदिने निर्णय भएपनि कार्यान्वयन नभएकाले कुनै दिन ठूलै दुर्घटना निम्त्याउन सक्ने बताए । बजारभित्रका ठूला ब्यवसायीले आफ्नो सामान ल्याउन प्रयोग गरेका ठूला ट्रकहरू प्रमुख समस्याको रुपमा देखिएपनि साना सवारीसाधन समेत पार्किङस्थल बाहेक राख्ने गरिएको छ।

छाडा चौपाय र भुसिया कुकुरको आतंकसँगै सडक वरपर सवारीसधान पार्किङ चुनौतीको रुपमा रहेको भन्दै बजारबासीले तत्काल मनपरी पार्किङलाई सुधार गर्न माग गदैं बजार नजिकै पार्किङ स्थल निर्माणमा समेत जोड दिएका छन् ।
बजार क्षेत्रमा ब्यापारीको मनोमानीले समेत अस्तब्यस्त बनाइरहेको ट्राफिक प्रहरीको गुनासो छ । अब्यवस्थित पार्किङ ट्राफिक प्रहरीलाई पनि यो विषय टाउको दुखाइ भएको छ ।

ट्राफिक कार्यालयमा अहिले १४ जना रहेका छन् जसमा एक जना भूरुङ तातोपानी एक जना सिंगा र एक जना दरबाङ रहेका छन् भने बाँकी ११ जना बेनीबजारमा नै रहेका छन् । तर बेनी बजारको ट्राफिक व्यवास्थापन भने कमजोर छ। ट्राफिक प्रहरीले भने बजार क्षेत्रमा कार्यालय समयमा ठूला सवारी साधनलाई प्रवेशमा रोक लगाएको कार्यालयका प्रमुख प्रहरी नायब निरक्षक बिष्णुबहादुर नेपालीले बताए ।

‘हामीले तत्कालै हटाउन निर्देशन दिन्छौ, कानुन विपरित भए जरिवाना लिन्छौ’ नेपालीले भने । उनका अनुसार जनशक्तिको कमीले गर्दा बजार क्षेत्रमा भने जसरी यातायातका समस्यालाई समाधान गर्न नसकेको बताए । यता बजार क्षेत्रभित्र ठाउँ–ठाउँमा मिनीबसपार्क समेत छन् ।

बेनी सामुदायिक माविको अगाडी सवारीसाधनले छेक्दा विद्यार्थीलाई समेत आफ्नै विद्यालयमा प्रवेश गर्न निकै सकस हुन्छ । नजिकै बिरेन्द्रचोकमा समेत जीपहरूको हुलले मुख्य बाटो छपक्कै छोपिन्छ । आवारोडमा ठूलै बसपार्ककै झल्को दिने गरी सानाठूला सवारीसाधनले बाटोको करिव ८० प्रतिशत भुभाग नै कब्जा जमाएर सवारीसाधन राख्ने गरिएको हुलाकचोक यूवा नरेश श्रेष्ठले बताए । बाटोबाटै यात्रुलाई बोकेर गन्तब्यतर्फ जाने भएकाले पनि धेरै सवारीसाधनहरु चोकचोकमा राखिएको हुन्छ ।

विज्ञापन