एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले चमत्कारी खेल प्रर्दशन गरेको छ । प्रतियोगिताको चौथो दिन मंगलबार नेपालले आयोजक बंगलादेशलाई दोहोरो अंक समेत बटुल्न नदिई सानदार खेल प्रर्दशन गरेसँगै फाइनलमा प्रवेश गरेको छ । नेपालले प्रतियोगितामा अपराजित यात्राले भलिबल खेलमा नेपालको सुधार प्रष्ट देखिएको छ । नेपाली टोलीको नेतृत्व म्याग्दीकी अरुणा शाहीले गरेकी छन् ।

अपराजित दुई टोली नेपाल र माल्दिभ्स फाइनल प्रवेश गरेका छन् । नेपालले बंगलादेशमाथि सोझो सेटमा जित हात पार्ने क्रममा प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालले तीनै सेटमा एकपक्षीय प्रदर्शन गर्दै २५–७, २५–६, २५–६ को जित दर्ता गरेको हो । दोस्रो सेटमा एक समय नेपालले १५–० को अग्रता बनेको थियो । नेपालका लागि पहिलो सेटमा सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै स्पाइकबाट नै ७ अंक जोडेकी थिइन् ।

दोस्रो सेटमा कप्तान अरुणा शाहीको सर्भिस घरेलु टोलीलाई निकै बलियो सावित भयो । तेस्रो सेटमा निरुता ठगुन्ना र प्रतिभा मालीले नेपालको सहज जित सुनिश्चित गरेका थिए । नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि सहज जित दर्ता गरेको थियो । तीनै सेटमा नेपालले अफगानी टोलीलाई दोहोरो अंक जोड्न दिएन । दोस्रो खेलमा किर्गिस्तानविरुद्ध सुरुवाती समयमा केहि मिहिनेत गर्नुपरेको नेपाली टोलीले सहज जित नै दर्ता गर्यो । नेपालले अब लिग चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्दैछ । बिहीबार हुने उपाधि भिडन्तमा नेपालले माल्दिभ्ससँग खेल्नेछ। नेपालले पराजित गरेको टोलीसँग माल्दिभ्सलाई कडा चुनौती दिएकाले पनि नेपाललाई उपाधीको सम्भावना रहेको छ ।

विज्ञापन