भारतले कालापानी तथा लिपुलेक अतिक्रमण गरेको विरोधमा पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा कलिला बालबालिकाले नै हस्ताक्षर अभियान शुरू गरेको छ ।

अतिक्रमित भूमि फिर्तामा भारतीय पक्ष मौन बसेको भन्दै मालिका जनहित बोर्डिङ स्कुल रनवाङ, डर्निङ इङ्लिस बोर्डिङ स्कुल र भृकुटी सनराइज बोर्डिङ स्कुलका विद्यार्थीले संयुक्त रुपमा आयोजित कार्यक्रममा अर्काको भूमिलाई कब्जा गर्ने भारतीय गतिविधिलाई रोक्न माग गदैं विद्यार्थीले हस्ताक्षर संकलन गरेका छन् ।

गाउँपालिकाको कार्यालय अगाडी आयोजित कार्यक्रममा बोल्दै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले नेपालको भूमि रक्षामा सम्पूर्ण नेपालीको एउटै धारणाले नेपालीको एकतालाई प्रष्ट पारेको बताउनुभयो । ‘विद्यार्थीले आफ्ना देशको इतिहासलाई बुझ्नपर्छ,‘पुर्खाले जोगाएको नेपाली भूमिलाई कसैले खोस्न पाउँदैन’ अध्यक्ष रोकाले भन्नुभयो । छिमेकी राष्ट्रले अतिक्रमण गरेको भू–भाग जसरीपनि फिर्ता लिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेसका इकाई उपसभापति दिर्घबहादुर खड्का र नेकपाका यूवा नेता एकजित रोकाले भूमि रक्षका लागि राष्ट्रियस्तरमा बनेको सहमतिले समेत भारतीय पक्षलाई दवाव मिलेको बताउनुभयो । ‘भारतीय अतिक्रमण बन्द गर’,‘लिपुलेक, कालापानी नेपालको हो’ जस्ता नारा लेखिएका प्ले कार्ड सहित आयोजित कार्यक्रमले आफ्नो देशको रक्षाको अभियानमार्फत धेरै जानकारी मिलेको मालिकाजनहितकी छात्रा गरिमा केसीले बताउनुभयो ।

दवावमुलक कार्यक्रममा मंगला गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र आचार्य, डर्निका प्रधानध्यापक यामबहादुर थापा, भृकुटि सनराईजकी शुसिला तिलिजा अधिकारी लगाएतको उपस्थिती रहेको थियो । करिव ४ सय हस्ताक्षर संकलन गरी गाउँपालिका मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको छ । कार्यक्रमको सञ्चालन मालिका जनहितका प्रधानध्यापक श्रीराम पौडेलले गर्नुभएको थियो ।