डा. अंशुमाली जोशी/ रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।

यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यहि हाराहारीमा रहेको अनुमान छ ।हामीले गतवर्ष केही ठाँउमा गरेको स्क्रिनिङको तथ्यांक केलाउँदा परीक्षण गरिएका मध्ये ८.४ प्रतिशतमा मधुमेहरोग देखिएको थियो ।

मधुमेह रोग लागेको थाह पाउने मापदण्ड के ?

सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ ।

मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।

मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरमा लाग्न सक्छ 

मधुमेह दुई किसिमको हुन्छ । टाइप वान (प्रकार एक) र टाइप टू (प्रकार दुई) । प्रकार एक वाला मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।

प्रकार दुई वाला मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ ।

मधुमेहको लक्षण सबैमा देखिदैन

मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।

पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौँ आधा जसोमा त्यो लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ ।मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । न धनी गरीब, न त जात धर्म बर्ण, न उमेर र लिंग सबैमा यो रोग देखिन्छ । यदी समयमै सतर्कता अपनाइएन भने ।

मधुमेह हो भनेर चिन्ने लक्षण के के हुन् ? कसरी थाह पाउने त ?

मैले फेरी पनि भने मधुमेह रोगको लक्षणहरु हुन पनि सक्छ नहुन पनि सक्छ तर केही लक्षणहरु यसप्रकार छन् ।

खाना रुचेर पनि तौल घटदै जाने ।
पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
भोक बढी लाग्ने तर दुव्लाउदै जाने
कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
खुट्टाहरु पोल्ने
पिसावमा कमिलाहरु देखिने
घाउहरु छिटो निको नहुने

धेरै जनाले सोध्नुहुन्छ धेरै पटक पिसाव भनेको कति पटक हो ? तर म के भन्छु भने सामान्य भन्दा बढी अर्थात दिनमा दुई तीन पटक पिसाव हुन्थ्यो भने अव चाहि ८ -१० पटक लाग्न थाल्यो भने मधुमेहको शंका गर्नुपर्छ । रातीमा पनि दुई तिन पटक उठन परयो भने शंका गर्नुपर्छ ।

हरेक स्वस्थ मानिसले बर्षमा एक पटक मधुमेहको जाँच गराउनै पर्छ

लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ३० बर्षको उमेर कटेपछि बर्षमा एक पटक मधुमेहको जाँच गराउनुपर्छ ।

मधुमेह नियन्त्रण भएन भने के हुन्छ ? 

मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म त्यममध्ये प्राय देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाँने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ ।अर्को असर मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ ।पक्षघाते सम्भावन पनि धेरै नै हुन्छ ।

त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुटाको घाउन निको नहुने र खुटामा काटनुपर्ने सम्भावना २० गुना बढी हुन्छ । यी मुख्य हुन तर अन्य फुटकर असरहरु भई रहन्छ ।यसले पिसावमा इन्फेक्सन हुने सम्भावना बढाउछ । पिसाव वा निमोनियाहरु भईरहन्छ ।
अन्य संक्रमणहरु 
पेटको समस्या भइरहने , कसैलाई झाडा पखला, कसैलाई कब्जियत भइरहने हुन्छ । कसैलाई उल्टी भरहने । कसैलाई डिप्रेसन पनि ल्याउन सक्छ ।यसकै कारणले कतिपयमा यौन इच्छामा कमी आउने या यौन दुर्बलता बढाउने सम्भावना पनि बढी हुन्छ ।

के कारणले हुन्छ मधुमेह ?

प्रकार दुई मधुमेह मुख्य त दुई प्रकारले हुन्छ । एउटा बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ ।अर्को भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन ।बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।

मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार ? 

सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।व्यायम नियमीत हुनुपरयो । व्याडमिन्टन, खेल खेल्नुस , दिनमा आधा घण्टा हिड्नुस । अरु शारीरिक परिश्रम गर्नुहोस् । -उहाँ अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत छन् । Setopati.com

Leave a Reply