विश्व मधुमेह दिवसको अवसरमा बेनी अस्पतालमा मधुमेहको शिविर तथा सचेतनामुलक कार्यक्रम सुरू गरिएको छ । बेनी अस्पतालको मुल आयोजना तथा म्याग्दीमा सञ्चालित लायन्स क्लवको संयोजनमा मधुमेह रोगीको पहिचानका लागि निशुल्क शिविर सुरू गरिएको हो ।

मधुमेहलाई चिनी वा सुगर रोग समेत भनिन्छ । सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको बढ्दै जान थालेपछि दिवसको अवसरमा चेकजाँच सहित सचेतनामुलक कार्यक्रम गरिएबो लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बताए । उनका अनुसार बेनीमा सक्रिय रहेका लायन्स क्लवले शिविरमा आउने विरामीलाई सहज रुपमा चेकजाँचको ब्यवस्था मिलाएको छ । विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरू ह्वात्तै बढ्ने गरेका छन् ।

मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिने बेनी अस्पतालका प्रमुख डा. मनोज घिमिरेले बताए ।

विज्ञापन