नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशको ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो । नेपाली टोलीको नेतृत्व गरेकी म्याग्दीकी अरुणा शाहीको उत्कृष्ट कप्तानीसँगै फाइनल खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएको थियो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५–० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५–१३ ले जितेको थियो ।  नेपाललाई दोस्रो खेलमा रोक्ने माल्दिभ्सको प्रयासलाई नेपालले असफल मात्रै गराएन लगातार तीनवटै सेटमा सानदार खेल प्रर्दशन गरेको थियो । दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्न सफल भएको थियो ।

माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।

यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई टिमले उपाधिका लागि खेलेका थिए । प्रतियोगितामा म्याग्दीको मालिका गाउँपालिका ३ रुमकी कमला पुन समेत छिन् । म्याग्देली खेलाडीको कप्तानीसँगै महत्वपूर्ण जिम्मेबारीमा अर्को खेलाडीको उपस्थितीले भलिबल खेलमा म्याग्दीको उपस्थिती बलियो देखिएको छ ।