प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गैरहेको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानीको तल्लो बजारमा १५ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न होटल बन्ने भएको छ । श्रेष्ठ होटल हटस्प्रिङ प्रालिले म्याग्दीले बनाउन लागेको होटलको शिलान्यास गरिएको हो । होटलको शिलान्यास गर्दै बेनी नगरपालिका–४, का वडा अध्यक्ष गोविन्द पौडेलले नयाँ बन्ने होटलले तातोपानी क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले तातोपानीमा विदेशी पर्यटकलाई समेत आर्कषित गर्न सुविधासम्पन्न होटलहरुको आवश्यकता रहेको बताउनुभयो । तातोपानी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि पहिलोपटक ठूलो लगानीमा होटलको शिलन्यास भएकाले पर्यटकको आगमन बढ्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले पश्चिम म्याग्दीमा आउने पर्यटकसँगै मुस्ताङ जाने पर्यटकलाई समेत सहज हुने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले नयाँ बन्न लागेको होटलले समग्र जिल्लाको पर्यटनमा सहयोग पु¥याउने भन्दै निर्धारित समयमै होटलको निर्माणसम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

जोड दिएका छन् । श्रेष्ठ होटल हटस्प्रिङ प्रालिका सञ्चालक प्रमोद श्रेष्ठको अध्यक्षता, तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको स्वागत र सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कोषाध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो।

सञ्चालक श्रेष्ठले बनाउन लागेको होटलको संरक्षकमा उनका बुबाआमा खड्कलाल श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठ संरक्षक रहनुभएको छ । कुल १५ करोड रुपैयाँको लगानीमा बनाउन लागिएको होटल १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै सञ्चालक श्रेष्ठले होटलमा एट्याससहित कुल ३२ कोठा, सभाहल १, पर्याप्त पार्किङको व्यवस्थाका साथै लिफ्ट समेत जडान गरिने बताउनुभयो ।

पछिल्लो समय कुण्डमा नेपाली बाहेक सार्क राष्ट्र भित्रबाट समेत नियमित आउन थालेका छन् । कुण्डमा बर्षेनी करिव २० हजार विरामीले कुण्डमा स्नान गर्ने गरेकोमा सोही संख्यामा अवलोकन समेत गर्न आउने भएकाले ठूला होटलले थप पर्यटकको आगमन बढाउने अपेक्षा गरिएको छ । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रमम निस्कने विरेनुन स्वादको तातोपानी आउने तातोपानीलाई पर्यटकको गन्तब्य बनाउन समेत सकिन्छ ।

जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । गन्ध आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएकाले पनि बर्षेनी बिरामीको चाप बढिरहेको अवस्थामा नयाँ होटलले सहज हुने स्थानीयबासीको भनाई छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका विरामी पुग्ने गरेका छन् ।