तिलक खत्रीले जेठी छोरी सरिताको विवाह गर्दा छोरीज्वाइँलाई चार लाख रुपैयाँको माला लगाइदिए। जाजरकोटको नलगाड नगरपालिका, खगेनकोटका खत्री भन्छन्, “परिवारको इज्जत र सम्मानको लागि छोरीज्वाइँलाई लाखौँ रुपैयाँको माला लगाइदिए।” जाजरकोटमा मात्र होइन, कर्णाली प्रदेशका विभिन्न गाउँबस्तीमा विवाह गरेर बिदाइ गर्ने बेला बेहुलाबेहुलीलाई नोटको माला लगाउने चलन बढ्दै गएको छ। कतिपयले भने देखाउनको लागि ऋण सापट गरेर धेरै पैसाको माला लगाइदिने प्रतिस्पर्धाले समाजमा विकृति निम्त्याएको बताउने गर्छन्।

अनौठो प्रतिस्पर्धा
दुबोको मालाको सट्टा माइती पक्षले छोरीज्वाइँलाई ४०-५० हजारदेखि चार-पाँच लाख रुपैयाँसम्मको माला लगाइदिने र दाइजोमा थप रकम बाकसमा दिने चलन छ। छोराले थातथलो अर्थात घरजग्गा प्राप्त गर्ने र छोरीको हकमा आउने सम्पत्तिको हिसाबले चार लाख नगद र पाँच तोला सुन दिएको खत्री बताउँछन्। पछिल्लो समय जाजरकोट, कालिकोट, रुकुम, जुम्ला, सुर्खेत र सल्यान जिल्लाका गाउँबस्तीमा यो चलन बढ्दै गएपछि धेरैले चिन्ता व्यक्त गरेका छन्। यो चलनले समाजमा धनी र गरिबबीच विभेद पैदा गदै आर्थिक अवस्था कमजोर भएका वर्गको आत्मसम्मानमा चोट पुर्याउने उनीहरुको तर्क छ।

सामाजिक कार्यकर्ता सुशीला सिंह भन्छिन्, “देखासिकी गर्दा आर्थिक अवस्था कमजोर हुनेहरू छोरीबहिनीको विवाह गर्दा ऋणमा डुबेका छन् त्यसैले यो चलन हटाउनु पर्छ।” सिंह मालाको बहानामा पैसा दिने चलनले घरेलु हिंसालाई मलजल र परिवारमा कलह सृजना गरेको बताउँछिन्। उनी भन्छिन्, “छोरीबहिनीलाई राम्रो विद्यालय र कलेज पढाएर आफ्नो खुट्टामा उभिने बनाउनुपर्छ भन्ने सोच कसैको छैन।” कालिकोटको शुभकालिका गाउँपालिकाकी यशोदा आचार्य पैसाको माला बनाएर दिने चलनले धेरै बावुआमालाई समस्यामा पार्ने गरेको बताउँछिन्।

आचार्य भन्छिन्, “हुने खानेले त सजिलै दिन्छन् तर नहुनेले ऋणको भारी बोक्नुको विकल्प छैन।” चारपाँच वर्षदेखि गाउँघरमा भित्रिएको विवाहमा पैसाको माला लगाउने चलनले दाइजो प्रथाको झल्को दिने गरेको कतिपय बताउँछन्। असी वर्षीय समाजसेवी चन्द्रबहादुर रावल भन्छन्: “पहिला यस्तो चलन थिएन। टीकाटालो गर्ने बेला दक्षिणाको रूपमा थोरै पैसा दिन्थे।” “घर गरेर खान सजिलो होस् भनेर आफ्नो गच्छे अनुसार छोरीबहिनीलाई घरायसी प्रयोगका सामान वा घरपालुवा जनावर दिएर माइतीले बिदा गर्थे।” रावलले थप्छन्: “अहिले त छोरीबहिनीलाई बिदाइ गर्दा पैसाको माला लगाएन भने गाउँभरी गिल्ला हुनु चिन्ताको विषय हो।”

“पैसा हैन, शिक्षा”

जाजरकोटकी अस्मिता विक माला लगाउने बहानामा पैसा दिने चलनले छोरीबहिनीको विवाह गर्न गरिबलाई खेत बेच्नु पर्ने अवस्था आएको बताउँछिन्। विक भन्छिन्: “मान्छेलाई पैसाले कहिल्यै पुग्दैन। छोरीबहिनीलाई पैसाभन्दा पनि राम्रो शिक्षा दिएर आफ्नै खुट्टामा उभिने सक्ने बनाए उनीहरु जीवनभर सुखी र खुशी रहन सक्छन्।”

निकै खर्चालु हुँदै गएकोले यस्तो चलन रोक्नुपर्छ भनेर बारम्बार आवाज उठाएपनि कसैले नसुनेको उनी गुनासो गर्छिन्। भर्खरै विवाह गरेका दुलाह दुलही भने, पैसा दिनु राम्रो नभए पनि गाउँघरमा चलेको प्रचलनलाई स्वीकार गर्नुको विकल्प नभएको बताउँछन् ।

रहर कि बाध्यता
कतिपय अभिभावक भने छोराछोरी दुवै बराबरी भएकोले पुर्खौली सम्पत्ति समानरूपमा बाँड्नुपर्ने बताउँछन्। छोरीको सम्पत्ति विवाहमा दिँदा अप्ठ्यारो मान्नु नपर्ने उनीहरुको तर्क छ। उनीहरू मान्छन् कि यसले छोरीबहिनीको मनोबल उच्च बनाउँछ। तर प्रतिस्पर्धा गर्नको लागि नभइ गच्छे अनुसार छोरीबहिनीलाई उनीहरुको भाग दिनुपर्ने उनीहरू बताउँछन् । देखासिकीमा गरिने यस्तो चलनले आफूहरू मर्कामा परेको अभिभावकहरू गुनासो गर्छन्।

उनीहरू भन्छन कि केही नगरे गाउँभरी गिल्ला हुने डरले पनि इज्जत जोगाउन ऋणसापट गरेरै भएपनि विवाह टार्नु पर्ने बाध्यता छ। ऋण लागेको कुरा भन्दा झन् लाज हुने भएकोले आफ्नो समस्या आफैभित्र राख्नु पर्ने बाध्यता अभिभावकहरूको छ। बिबिसीबाट

विज्ञापन