नेपाली महिला भलिबल टोलीले विगतका हरेक अन्तराष्ट्रियस्तरका प्रतियोगितामा मुस्किलले रजत पदक सम्म जितेको छ । नेपाली टोली सोझो सेटमै पराजित भएका धेरै खेलहरू छन् । प्रयाप्त स्रोतसाधनको अभाव, खेलकुदमा राज्यको कम लगानी, पूर्व तयारीमा कमी लगाएत धेरै कारणले नेपाली भलिबल टोलीले आफ्नो खेललाई उकास्न सकेको थिएन् ।

आफ्नै देशभित्र भएका अन्तराष्ट्रियस्तरका खेलहरूमा समेत सन्तोषजनक खेल देखाउन नसकेको नेपाली महिला भलिबल टोलीले बिहिबार बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको ट्रफी कब्जा गर्न सफल भयो । फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाली महिला टोलीले पहिलोपटक अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भयो ।

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको नेपालीले टोलीले ३–० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो । नेपाली टोलीको नेतृत्व गरेलगत्तै आक्रमक प्रशिक्षणमार्फत खेलाडीलाई सेन्ट्रल जोनको उपाधीका लागि आत्मबल बढाउन कप्तान शाहीले खेलेको भूमिकाले अन्तत नेपालले शाहीकै नेतृत्वमा पहिलो अन्तराष्ट्रिय भलिबल उपाधी जित्ने नेपाल महिला टिम भएको छ ।

यसअघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो। ‘हामीले उपाधी जितेर स्वर्ण पदकको खडेरी लागेको अवस्थामा नयाँ आशा जगाएका छौ,‘सेन्ट्रल जोनको उपाधी दिलाउन पाउनु मेरा लागि अहोभाग्य पनि हो’ अरुणाले बेनीअनलाइनसँग भनिन् । उनले नेपालको अन्तराष्ट्रियस्तरको सफलताले भलिबलको तिर्खा भने नमेटिएको बताईन् ।उनले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने लक्ष्य सहित थप अभ्यासमा जुट्ने बताईन् ।

‘हामीलाई सागमा पनि स्वर्ण पदक चाहिएको छ,‘आत्मविश्वास बढेको छ,‘घरेलु मैदानबाटै अर्को विजयको सन्देश दिन चाहन्छौ’ अरुणाले भनिन्।आगामी मंसिर १५ देखि २५ गतेसम्म काठमाण्डौमा हुने साकमा नेपाली टोलीको नेतृत्व समेत उनले गर्ने पक्का छ । यसअगाडी नेपालले साकमा कास्य पदकसम्म जितेको थियो । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् ।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाले आफ्नै नेतृत्वमा पहिलो उपाधी जिताएपछि भलिबल क्षेत्रमा समेत खुसीयाली छाएको छ । २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी शाहीले क्षेत्रीयस्तरको खेलमा सहभागि हुदै राष्ट्रिय टोलीमा प्रवेशसँगै भलिबलमा निरन्तर चर्चामा छिन् ।

बिरेन्द्र शिल्ड खेलमा पोखरामा आयोजित क्षेत्रीय खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेपछि पोखराबाटै उनले खेलमा सहभागि हुने अवसर पाएकी थिईन् । त्यस्तै राष्ट्रिय टोलीमा मालिका गाउँपालिका वडा नं ३ रुमकी कमला पुनले समेत आफ्नो खेललाई निरन्तर उत्कृष्ठ देखाउँदैछिन् । नेपाल प्रहरीको महिला भलिबल टोलीमा लिफ्टर समेत रहेकी पुनले समेत राष्ट्रिय टोलीभित्र छिन् ।

विज्ञापन