उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठुलो बगरमा २० रोपनी जमिनमा सामुहिक तरकारी खेती सुरू गरिएको छ । गाउँपालिकाको अनुदानमा ठूलो बगर बहुउद्देश्यीय कृषि समुहमार्फत ठूलो बगरमा अर्गानिक तरकारी खेती सुरू गरिएको वडा सदस्य बुद्धि पुनले बताउनुभयो । २० रोपनीमा ५ सय किलो आलु, प्याज, चाइनिज तोरी, काउली, बन्दा, साग लगाएत मौसमी तथा बेमौसमी तरकारी गरिने पुनको भनाई छ ।

गाउँपालिकाको न्यायिक समितिका सदस्य समेत रहनुभएका पुनले ठूलो बगरको माटो परिक्षणको क्रममा समेत तरकारी खेतीका लागि उपयुक्त भएकाले पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । समुहमार्फत सुरू गरिएको सामुहिक तरकारी खेतीमा हाइटेक प्रविधिको टनेलमा टमाटर, सिमी तथा अन्य बेमौसमी तरकारी फलाउने योजना रहेको छ ।

समुहले परम्परागत प्रविधिसँगै हाइटेक प्रविधिको प्रयोग गरी थप १ सय ३० रोपनी जमिनमा कृषि खेती गर्ने बताइएको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले ठूलो बगरमा उत्पादन गरिएको तरकारी सहित गाउँपालिकाले पकेट क्षेत्रको रुपमा विकास गर्ने सम्भावनायुक्त क्षेत्रहरुलाई प्राथमकिता दिएर अनुदान दिने बताउनुभएको छ ।

उहाँले गाउँपालिकामार्फत उत्पादनलाई प्राथमिकता दिएर अगाडी बढ्ने बताउँदै माटो परिक्षण लगत्तै कृषि उत्पादनलाई सहज हुने माटोमा उत्पादन गर्ने बताउनुभयो । सामूहिक रुपबाट गरिने कृषि खेतीबाट सामूहिक भावनाको पनि विकास हुने अध्यक्ष पुनको भनाई छ । आधुनिक तरिकाबाट कृषि खेती सम्बन्धी तालिम र प्रशिक्षण, बीउ, सिचाँई सामग्री र किटनाशक औषधी सहित अनुदानलाई सदुपयोग गर्ने समुहलाई प्रोत्साहन समेत गर्ने गाउँपालिकाले जनाएको छ ।

विज्ञापन