Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने

नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली शुक्रबार अपरान्ह ४ बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ । संघले टोलीलाई शुक्रबार साँझनै रात्री भोजको समेत ब्यवस्था गरेको जनाएको छ ।

बंगलादेशको ढाकामा बिहिबार नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपाल फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ गरी ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो । भलिबलमा नेपालको यो ऐतिहासिक उपाधि हो ।

नेपाली भलिबलले ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पहिलो पटक स्वर्ण पदक जितेको हो । नेपालले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभा) बाट मान्यता प्राप्त ठूलो प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक हो । नेपालले सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको थियो ।

नेपालले यसअघि सन् २०१४ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा रजत पदक जितेको थियो । नेपालको पुरुष भलिबल टोलीले भने तीन बर्षअघि माल्दिभ्समा भएको तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जितेको थियो ।पाँच देश सहभागी यस च्याम्पियनसिपमा नेपालले लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकालेको थियो । अपराजित रहँदै उपाधि जित्ने क्रममा नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो । Source: Dcnepal

Exit mobile version