क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा देउसीभैलोको रकम सार्वजनिक भएको छ । यस वर्षको तिहार पर्वमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकम सार्वजनिक गर्नुका साथै सहयोगदाता र कलाकारलाई सम्मान गरिएको हो ।

क्षत्री समाजको घर निर्माण गर्दा लागेको ऋण तिर्ने उद्देश्यसहित खेलिएको देउसी भैलोमा कुल १२ लाख १५ हजार ४८ रुपैयाँ सङ्कलन गरिएको क्षत्री समाज म्याग्दीले जनाएको छ । देउसीभैलो खेल्ने क्रममा दुईलाख २१ हजार छ सय रुपैयाँ खर्च भई नौलाख ९३ हजार चारसय ४८ रुपैयाँ बचत रहेको क्षत्री समाज म्याग्दीका सचिव देवेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।

क्षत्री समाजको देउसीभैलोमा सहयोग गर्नेहरु प्रवासी म्याग्देली हिराबहादुर खत्री, महेन्द्र जिसी, भीमबहादुुर केसी र बलबहादुर बरुवाललाई अबिर तथा खादा लगाई सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरी कार्यक्रमको अवसरमा बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापालाई पनि सम्मान गरिएको थियो । सम्मानपछि बोल्दै अधिकृत थापाले देशमा रहेको वर्गीय असमानतलाई हटाउनुपर्ने आजको औचित्य र आवश्यकता रहेकोमा जोड दिएका थिए ।

क्षत्री समाजका पूर्व अध्यक्ष क्या. मिनबहादुर कार्कीले समाजमा रहेका सबै जातजातिहरुको बिचमा जातीय सद्भाव कायम राख्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुपर्ने बताए । सहयोगदाता भीमबहादुर केसीले प्रवासमा रहेपनि क्षत्री समाजलाई आगामी दिनमा निरन्तर सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा देउसीभैलो कार्यक्रममा सहयोग गर्ने कलाकारहरुलाई सम्मान गरिएको थियो । क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्णबहादुर बानियाँको स्वागत, सहसचिव हिमबहादुर भण्डारी तथा क्षत्री महिला समाजका अध्यक्ष कमला जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष अमृतदेवी बानियाँ, बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन