म्याग्दीको सदरमुकाम बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बेनी संजिवनी हेल्थ क्लिनिकको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा १३ जना बालबालिका सहित कर्मचारीलाई सेवा दिइएको क्लिनिकका सञ्चालक कुमार बानियाँले बताए ।

बालगृहमा रहेका बालबालिकालाई चेकजाँच गरी निःशुल्क औषधी वितरण गरिएको उनले बताए । स्वास्थ्य शिविरमा बालबालिकालाई चेकजाँचसँगै जाडोयाममा आवश्यक सर्तकता सहित भविस्यमा समेत शिविरमार्फत सेवा दिने प्रतिबद्धता जनाएका थिए ।  स्थानीय सरकारमार्फत तोकिएको मापदण्ड अन्तरगत दर्ता, अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका अनुसार अनुमति लिएर सञ्चालन गरेको क्लिनिकले सामाजिक उत्तरदाहित्व अन्तरगत शिविर सञ्चालन गरेको जनाएको छ । निर्देशिका अनुसार बेनीबजारमै सञ्चालित कतिपय क्लिनिहरुले मापदण्ड पुरा गरेका छैनन् ।

यता शिविरमार्फत बालबालिकाको उपचारमा सघाएको भन्दै बालगृहले समेत धन्यवाद दिदैं भविस्यमा समेत निशुल्क सेवाका कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। अभिभावविहिन बालबालिकालाई बालगृहमा आउनुभन्दा आगाडी स्वास्थ्यमा समस्या भएको हुनसक्ने तथा नियमित उपचारको आवश्यकता परेका बालबालिकालाई समेत शिविरले सहज भएको बताइएको छ ।