पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँका मिलन पुन स्वास्थ्यकर्मी हुन् ।गाउँमा बिरामीलाई नियमित चेकजाँचसँगै उनले वडा कार्यालयमा सेवाग्राहीको सिफारिस लगाएत प्रशासनिक काममा समेत ब्यस्त हुन्छन् । पुनजस्तै वडा नं २ मा धनमायाँ पुनले समेत आफ्नो जिम्मेबारी बाहेक वडामा समेत दैनिक ब्यस्त हुनुपर्छ । स्वास्थ्यकर्मी मात्रै नभई सव इन्जिनियर नविन पुले दुईवटा वडाको सचिवको जिम्मेबारीमा छन् ।

गाउँपालिकाका सात वटै वडा कार्यालयमा सचिव नहुँदा स्वास्थ्यकर्मी, प्राविधिक र अधिकृतले समेत वडा सचिवको जिम्मेबारीमा काम गर्ने गरेका छन्।गाउँपालिकामा कार्यरत वडा सचिव सरुवा भएर गएपछि सिंगो गाउँपालिका नै वडासचिव बिहिन भएको अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।‘फरक जिम्मेबारी भएकालाई वडा सचिवको जिम्मा दिनुपर्ने बाध्यता छ,‘कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या भइरहेको छ’ रोकाले भने ।

प्राविधिक तथा अन्य कर्मचारीको सहायतामा चलाइएको अवस्थामा पटकपटक सचिवको माग गर्दा समेत पुरा नभएको बताए । गाउँपालिकाभित्र वडा सचिवको अभावमा कर्मचारी ब्यवस्थापन गर्दा समयमै योजना तथा प्रगति, राजश्व संकलन लगाएतका कार्यहरु समेत प्रभावित भएका छन् । जिल्लामा दरबन्दी अनुसार वडा सचिवविहिन भएको गाउँपालिका मालिका भएपनि अन्य गाउँपालिकामा समेत समस्या भइरहेको छ ।

धवलागिरी गाउँपालिकाका ७ वटा वडामध्ये ६ वटा वडाको जिम्मेबारी दुईवटालाई रहेको छ ।‘ एउटै वडाभित्रको बस्तीमा पुग्न एकदिन लाग्छ,‘सचिवको अभावले कार्यसम्पादनमा समस्या भइरहेको छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले भने । त्यस्तै मंगला गाउँपािलकामा पाँचवटा वडामा २ जना र अन्नपूर्ण गाउँपालिकामा ८ वटामा दुईजना वडा सचिव बाहेक अन्य स्वास्थ्यकर्मी, प्राविधिकको सहयोगमा वडा सञ्चालन गरिएको छ।

‘वडाभित्रको सेवा प्रवाहमा धेरै समस्या देखिएको छ,‘वडाको प्रमुख कर्मचारी नहुदाँ योजना बनाउन समेत समस्या छ’ मंगला गाउँपालिकका अध्यक्ष सतप्रसाद रोकाले बेनीअनलाइनसँग भने । वडा कार्यालयले संकलन गर्नुपर्ने कर संकलन, योजना निर्माण, कार्यान्वयन लगाएतमा समेत कर्मचारी अभावले समस्या ल्याएको छ । जिल्लाबाट निर्वाचित सांसद तथा मन्त्रीहरुलाई ध्यानर्कषण सहित सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी माग गरि पत्राचार गरेपनि कर्मचारी पठाउन आनकानी गर्ने गरेको जनप्रतिनिधिको गुनासो छ ।

विज्ञापन