म्याग्दीमा क्रियाशिल रहेका पत्रकार तथा सञ्चारकर्मीहरु आबद्ध सञ्चार संस्था म्याग्दी मिडिया सोसाइटीको साधारणसभा सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा तेस्रो वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाको उद्घाटनसत्रमा म्याग्दी मिडिया सोसाइटीका सचिव अमित विश्वकर्माले प्रगति, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले आर्थिक प्रतिवेदन र कार्यसमिति सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सभाका सदस्य सन्तोष गौतमले म्याग्दीमा पत्रकारिताको विगत र वर्तमान अवस्थाबारे अवधारणापत्र प्रस्तुत गरेका थिए ।

साधाणसभाको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य केसीले स्थानीय तहहरुले सूचना तथा विज्ञापनहरु स्थानीय सञ्चारमाध्यमहरुमा नै प्रकाशित र प्रसारण गर्न सुझाव दिएका छन् । उनले विज्ञापनकै कारण समाचारका स्रोतहरु लुक्न नहुनेमा जोड दिँदै पत्रकार र सञ्चारमाध्यमहरुले तथ्यपरक सूचना, सन्देशहरु सम्प्रेषण गर्नुपर्ने बताए ।

पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउँदै म्याग्दीमा पछिल्लो समय विकासले गति लिएको सांसद केसीको भनाइ छ। सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले समाजमा सत्य, तथ्य र सन्तुलित समाचारजन्य विषयवस्तुहरु सम्प्रेषण गर्न आवश्यक रहेको धारणा राखे ।

उनले जिल्लाको विकास निर्माणमा देखिएका समस्या, बिकृति र विसङ्गतिलाई पत्रकार तथा सञ्चारमाध्यमले उठाउनुपर्ने बताउँदै बेनी अस्पताल भवन निर्माण र कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माणमा ढिलाई भैरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदी र नेपाली कांग्रेसका जिल्ला सहसचिव भरत रकालले सञ्चार जगतले समाज परिवर्तन र रुपान्तरणका लागि आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पत्रकारले विषयवस्तुमा टेकेर समाचार सम्प्रेषणमा गर्नुपर्नेमा जोड दिँदै जिल्लामा सुशासन कायम गर्नका लागि सार्वजनिक सेवा प्रवाहबारे कलम चलाउन आग्रह गरेका छन् । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले दुर्गम क्षेत्रमा सञ्चारमाध्यमबाट सूचना र सन्देशहरु पु¥याउन आवश्यक रहेको भन्दै पत्रकारिता क्षेत्रको विकासमा गाउँपालिकाको तर्फदेखि आवश्यक सबैखाले सहयोग गर्ने बताएकी छिन् ।

कार्यक्रमको अवसरमा म्याग्दी मिडिया सोसाइटीले स्थापना गरेको मिडिया अवार्डबाट संस्थाका कोषाध्यक्ष एवं म्याग्दीका क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्यलाई नगद छ हजार पाँचसय रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । पत्रकार आचार्य स्थानीय नवविकल्प साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा सरकारी सञ्चारमाध्यम गोरखापत्र राष्ट्रिय दैनिकका म्याग्दी जिल्ला संवाददाता हुन् । यसैगरी ग्रामीण क्षेत्रबाट पत्रकारिता गर्दै आइरहेको भन्दै अन्नपूर्ण–५, शिखका सेते तिलिजा र रघुगंगा–१, बेगखोलाका दलप्रसाद तिलिजालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा म्याग्दीकाली सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र वर्तमान सचिव गोरखनाथ सुवेदीले मन्तव्य राखेका थिए । कार्यक्रम म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विज्ञापन