हात समाई उनलाई खोला तार्नुको मजा बेग्लै थियो ।
सारीको सप्को अलिमाथि सार्नुको मजा बेग्लै थियो ।।
६४ वर्षिय वैंशालु गजलकार प्रकट पंगेनी ‘शिव’ उद्योग वाणिज्य सङ्को सभा हलमा यसरी रङ्गिएपछि दर्शक दीर्घबाट परर ताली पड्क्यो । पछिल्लो समय म्याग्दीमा विभिन्न साहित्यिक संगठनहरुले फरकफरक साहित्यिक स्वादहरु पस्कँदै पछिल्लो युवापुस्तालाई साहित्यतर्फ आकर्षित गर्दै आएका छन् ।

त्यस्तै शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’को उपस्थितिमा दर्जनौं प्रेममय गजलवाचनले उपस्थित साहित्यिक अनुरागीहरुलाई आनन्द दिलाएका थिए ।युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सह–आयोजनामा भएको गजल कार्यक्रममा गजलकार पंगेनीले युवा अवस्थाको प्रेम सम्वन्धहरुबारे चित्रण गर्दै साहित्य अनुरागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
आलेटाले गर्दै बेला टार्नुको मजा बेग्लै थियो ।

उठ्यो रिमाई फेवातालमा छाल साँझपख ।
हान्यो रिमाई माँझी दाइले जाल साँझपख ।।

तिम्रै हातले भर्दै गिलास पिलाएको छुट्टै मज्जा ।
कोखाई कोखाई गर्दै शितन खुलाएको छुट्टै मज्जा ।।
संसारमा मिलन विछोड, दुःख सुख जे भएपनि एकअर्कामा प्रेम कहिल्य नमर्ने संदेश पंगेनीले गजलबाट दिएका थिए । प्रमुख अतिथि प्रजिअ ज्ञाननाथ ढकालले विभिन्न साहित्यकारहरुको उपस्थितिले युवापुस्तालाई साहित्यतर्फ रुची र कलम चलाउन सहयोग पुग्ने बताए ।

साहित्य अध्ययन तथा लेखनले विभिन्न क्षेत्रमा ब्यस्त रहेका युवा पुस्ताहरुमा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए । वरिष्ठ साहित्यकारहरु म्याग्दी भियाएर म्याग्दीको साहित्यलाई राष्ट्रिय स्तरमा पु¥याउन लक्ष्य रहेको म्याग्दी साहित्य सञ्चारका संस्थापक अध्यक्ष घायलश्रीले बताए । कार्यक्रममा म्याग्दी, पर्वत र वागलुङ्का साहित्यिक सर्जकहरुको उपस्थिति रहेको थियो । युवा सञ्जाल म्याग्दीका अध्यक्ष सन्दिप शर्माको अध्यक्षता, कार्यक्रमका संयोजक दिपक शर्माको स्वागत तथा म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply