खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मालिका गाउँपालिका–२ रुमकी इन्द्रकुमारी पुनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी पुनको गत बुधबार विहान गाउँकै पीङजरा भन्ने ठाउँमा २७ बर्षिय रमेश पुनले अन्धाधुन्दा खुकुरी प्रहार गर्दा गम्भीर घाईते भएपछि गाउँमा प्राथमिक उपचारलगत्तै थप उपचारका लागि हेलिकप्टरबाट पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको थियो ।

खुकुरीलाई छेक्न खोज्दा हातमा चोट लागेपछि भाग्न खोज्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
हात, गर्धन र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरिएकी पुनलाई केही समय अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने भएको पारिवारिक स्रोतले जनाएको छ ।

यता खुकुरी प्रहार गरी फरार भएका अभियुक्त पुनलाई स्थानीय यूवाले नियन्त्रणमा लिएको तस्वीर समेत सार्वजनिक भएको छ । निकै त्रसित अवस्थामा भेटिएका पुनले घटनामा आफ्नो संलग्नता भएको बताउँदै कानुन अनुसार सजाय भोग्न तयार रहेको बताउँदै प्रहरीको जिम्मा लगाउन माग गरेको भिडियो समेत सामाजिक सञ्जालमा देखिएको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा समेत बसेर फर्किएका पुनलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । घाईते प्रधानध्यापकको स्वास्थ्य लाभको कामना गदैं पोखरा जाने तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर हदैसम्मको कारवाहीको माग समेत गरेका छन् ।