रबिना बोहरा/बागलुङ र पर्वत पाङ जोड्ने दक्षिण एशियाकै सबैभन्दा लामो मानिएको झोलुङ्गे पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । २०७५ चैतबाट सुरु भएको यस पुल आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने गरी थानी,बिएलटि,हिमशिखर कन्स्ट्रक्सनले संयुक्त रुपमा सम्झौता गरेको थियो । तर ठेकेदार कम्पनीले तोकिएको समय भन्दा पनि छिटो सक्ने गरी तिब्र रुपमा काम अगाडी बढाएको छ ।

पुल शिलन्यास पछि दुवै तर्फ फाउण्डेशनको काम सकिसकेकाले लठ्ठा तानेर फिटिङ गर्ने काम मात्र बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनीधि नरहरी खड्काले बताउनुभयो । लठ्ठा तान्नका लागि दुवै तर्फ रहेका विद्युतका तार र मध्यपहाडी लोकमार्गको मालढुंगा–बागलुङ खण्ड एवं मालढुंगा–बेनी सडकमा सवारी आवतजावत गरिरहने हुनाले समस्या भएको खड्काले बताउनुभयो । बाङगेचौर देखि पारी सम्म बाँसको तुईन बनाई लठ्ठा तान्ने योजना छ । पर्वत र बागलुङका विद्युत प्राधिकरणहरुले तार व्यवस्थापन गरेमा ३ महिना भित्र काम सक्ने ठेकेदार कम्पनीले दाबी गरेको छ ।

बागलुङ नगरपालिकाको समन्वयमा विद्युत प्राधिकरणलाई पत्र पठाएर तार व्यवस्थापन थालेको कम्पनीले जनाएको छ । सोमबार विद्युत प्राधिकरण बागलुङका प्रमुख प्रमुख शिवनारायण गोशली लगायतको टोलीले अवलोकन गरी विद्युतका नाङ्गा तारमा इन्सुलेटर तार राखेर सुरक्षित बनाउने तयारी गरेको छ । लठ्ठा तान्दा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि तार व्यवस्थापनमा सघाउने गोशलीले बताउनुभएको छ ।

बाङ्गेचौर देखि पाङसम्म कुल २४ वटा लठ्ठा तान्नुपर्छ । एउटा लठ्ठा मात्रै ३७ कुइन्टल रहेको ठेकेदार कम्पनीले बताएको छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरी बनाउन लागिएको ५ सय ६७ मिटर लामो र झण्डै एक सय २२ मिटर अग्लो पुल निर्माण भएपछि दुई जिल्लाको पर्यटन तथा आर्थिक विकास हुने विश्वास गरिएको छ । बि.स २०५९ सालबाट पुल निर्माण गर्ने सम्भाव्यता अध्ययन थालिएको थियो ।

अहिले सम्म नेपालमा ७ हजार ५ सय बढी झोलुङ्गे पुल रहेका छन् । सुरुमा १२ करोड २२ लाख रुपैँया लागत अनुमान गरिएपनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि ६ करोड ९१ लाख रुपैँयामा सम्झौता भएको थियो । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको हो ।

चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छ भने यहाँ बन्ने लागेको पुल खुल्ला आकाशमा बन्ने भएकाले पनि यस प्रकृतिको पुल दक्षिण एशियामा सबैभन्दा लामो पुल रहेको अधिकारीहरु बताउछन् । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने भएपनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ ।

Leave a Reply