बेनी नगरपालिका वडा नं ४ थामडाँडाकी धनकुमारी गुरूङ खेतमा आलु लगाएर घर फर्किने बेलामा अचानक अस्वस्थ भईन् । दिनभरी खेतमा काम गरेर बेलुकी घरमा फर्किएर आराम गर्ने क्रममा चक्कर लागेर ढलिन् । लगातार पेट दुख्न थालेको केहीबेरमै फुलेपछि ग्याष्ट्रिकको आशंका औषधी खुवाउँदा समेत निको नभएपछि बेनी अस्पतालमा ल्याइयो । अस्पतालसम्म आइपुग्दा तीनपटक बेहोस भएकी गुरूङलाई एपेन्डिक्स भएको अनुमान गरिएपनि भिडियो एक्स–रेको क्रममा पाठेघर बाहिर ५–७ हप्ताको गर्भ पाठेघर बाहिर फुटेको अवस्था भेटियो ।

तल्लोपेट, शरीरका विभिन्न भाग दुख्ने र पेट ढुस्स फुलेको अवस्थामा गुरूङकोब्लर्ड प्रेसर, पल्र्स(नारी) र स्वासप्रस्वास समान्यभन्दा निकै तल भएकै कारण थप उपचारका लागि पोखरा पठाउँदा बाटोमा ज्यानै जाने सम्भावनालाई मध्यनजर गरी डा. नवराज बस्ताकोटीको नेतृत्वमा सफल शल्यक्रिया गरिएको थियो । ‘धेरै रगत (ब्लिडिङ) भएको अवस्थामा अस्पतालमा आउनुभएको थियो,’बढी ब्लिडिङ भएर मृत्युको जोखिम अत्याधिक हुने भएकाले इमर्जेन्सी शल्यक्रिया गरौं’ डा. बस्ताकोटीले भने ।

उनका अनुसार चिकित्सा क्षेत्रमा दुर्लभ मानिने बताए। बच्चा बसेर पनि फुटिसकेको अवस्थामा बिरामीको ज्यान जोगाउन चिकित्सकले जोखिम मोल्नुपर्ने बताए । ‘उहाँहरुले आनकानी गर्नुभएको थियो,‘उपचार सम्भव भएपछि परिवारले बधाई दिएर जानुभयो’ अस्पतालका क्लिनिकल कोअर्डिनेटर समेत रहेका बस्ताकोटीले भने । उनले महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया भएकाले दुई जीवन बच्चा र आमाको सुरक्षाका लागी जोखिम मोल्नुपर्ने बताए । पाठेघरभित्र बच्चा नबसेर बाहिर बस्नुलाई एक्टोपिक प्रेग्नेन्स भनिन्छ ।

जनचेतनाको अभावले बिरामीहरु दुई महिना सम्म महिनाबारी रोकियो भन्दै आउने गरेको अवस्थामा अल्ट्रासाउन्डबाट बच्चाको अवस्था हेर्दा पाठेघर बाहिर नबसकेको अवस्थामा बिरामीले अटेर गर्ने गरेको डा. बस्ताकोटीको भनाई छ । यता सिकिस्त अवस्थामा छोरीलाई अस्पतालमा ल्याएर नयाँ जीवन पाएको गुरूङकी आमा चन्द्रकुमारीले बताईन् । ‘छोरीको अवस्थ जटिल थियो,‘बाटोमै दुईतीनपटक बेहोस भईन’ चन्द्रकुमारीले भनिन् ।

उनले बेनी अस्पतालमै चिकित्सकले सेवा दिने विश्वास नलागेको अवस्थामा छोरीले नयाँ जीवन पाएपछि धेरै खुसी भएको बताईन् । उनले आफ्नै जिल्लामा निशुल्क गुणस्तरीय उपचारको सुविधाको महसुस गरेको बताईन् । शल्यक्रियापछि अस्पतालमै चिकित्सकको निगरानीमा बसेर घर फर्किएका गुरूङका परिवारले डा. बस्ताकोटीसँगै बसेर फोटो खिचेका थिए। बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरेले एक्टोपिक प्रेग्नेन्सलाई चिकित्सा क्षेत्रमा ठूला र आकस्मिक रुपमै गर्नुपर्ने शल्यक्रियाभित्र राखिएको बताए ।

‘रिफर गर्ने नमिल्ने अवस्थाका बिरामी मानिन्छ,‘बिरामीको ज्यान जाने सम्भावना धेरै हुन्छ’ डा. घिमिरेले भने । उनले गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन सकिने बताए ।अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा लिने बिरामीको समेत चाप धेरै रहेको अस्पतालले जनाएको छ । जटिल शल्यक्रियापछि डा. नवराज बस्ताकोटीसँगै तस्वीर खिचाउँदै ।