नजिकै शौचालयको प्यान छ, त्यही भातको थाल र सुत्ने विस्तारा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका गणेश पुर्जा बस्ने, खाने र सुत्ने ठाउँ शौचालय बनेको छ। करिब एकबर्षदेखि शौचालयमा सुत्ने गरेका पूर्जाले शौचालयमा खानो र सुत्ने गरेका छन् । मानसिक सन्तुलन गुमाएका पूर्जाले आफन्तको सहयोगमा पकाएर ल्याएको खाना खाने, सुत्ने र त्यही रहेको शौचालयको प्रयोग गर्ने गरेको नारच्याङका टेकबहादुर पुनले बताए ।

‘मानसिक सन्तुलन गुमाएकाले सम्हाल्नै सकिदैन्,‘अरुलाई क्षती नपु¥याएपनि नांगै डुल्छन्’ पुनले बेनीअनलाइनलाई भने । मानसिक सन्तुलन गुमेकै कारण पूर्जाले लामो समयसम्म घरबाट सम्पर्कविहिन समेत भएका थिए ।सुत्ने र खाने कोठाको रुपमा प्रयोग गरिएको चर्पीबाट दुर्गन्ध हटाउन परिवारले समेत सहयोग गर्ने गरेका छन् ।

बुबा रन बहादुर बैदेशिक रोजगारमा गएको बेला आमाले दोस्रो विवाह गरेपछि पूर्जाको मानसिक सन्तुलन गुमेको थियो । बैदेशिक रोजगारमा बुबा गएपछि आमासँगै मामा घरमा बस्दै आएका पूर्जाको मानसिक सन्तुलन गुमेपछि उपचारका हरेक प्रयास असफल भएको रनबहादुरको भनाई छ । लामो समयसम्म बेवारिसे छोराको खोजी गरी घरमा ल्याइएको थियो ।

मानसिक सन्तुलन गुमेकै कारण परिवार र समाजले उनको बैकल्पिक ब्यवस्थाको माग गरेपछि म्याग्दीका सामाजिक अभियान्ता चन्द्रकुमार केसीले पहल गरेका छन् । केसीमार्फत मानवसेवा आश्रम पोखरामार्फत पूर्जाको उद्धारको प्रयास गरिएको छ ।